Fast Nepal News

हिमपातले सडक फेरि अवरुद्ध

banner single news

लमजुङ — १० फागुन २०७८

लमजुङ , मंसिर तेस्रो साता मनाङमा वर्षकै पहिलो हिउँ पर्‍यो । माथिल्लो मनाङ र नार्पाभूमि हिमपातले सेताम्य बने । चामेसम्म हिउँ पर्नलाई पुस दोस्रो साता लाग्यो । त्यसपछि बारम्बारको हिमपातले चामे बजारदेखि तल्लो क्षेत्रको दानक्यु हुँदै धारापानीसम्म हिमपात भइरह्यो । हिउँ पग्लिएपछि केही दिन सहज बन्यो । सडक खुल्यो । माघ पहिलो र दोस्रो साता परेको हिमपातले यातायात फेरि ठप्प बनायो । माइनस तापक्रमले स्थानीय बाहिर निस्कन सकेनन् । त्यही हिउँलाई छोप्दै माघ तेस्रो साता भारी हिमपात भयो । उक्त हिउँ पग्लिन नसकेपछि एक सातायता दानक्युबाट चामेतर्फ एक्स्काभेटरले हिउँ हटाएर सडक खुलाउन थालिएको थियो । सदरमुकाम चामेमा सेना–प्रहरीले हिउँ हटाएर सडक खुलाएका थिए । दानक्युबाट तिमाङ, चामे हुँदै भ्राताङ, ढिकुरपोखरी, पिसाङ भएर हुम्डे (मनाङ ङिस्याङ गाउँपालिका केन्द्र) सम्म शनिबार हिउँ फालेर बाटो खुलाइएको थियो ।

तर, आइतबार तल्लो क्षेत्रको नासों गाउँपालिका–३ धारापानीसम्म एक्कासि हिउँ परेपछि सडक पुनः अवरुद्ध भएको छ ।  मनाङ ङिस्याङ–१ पिसाङका याङडुङ गुरुङका अनुसार माथिल्लो मनाङमा सवारीसाधन नगुडेको २ महिना पुग्न लाग्यो । उनका अनुसार हिउँ हटाउँदै आए पनि पुनः हिमपातले सडक अवरुद्ध बनाएको छ । पिसाङका छिरिङ गुरुङका अनुसार माथिल्लो मनाङ क्षेत्रमा नासों गाउँपालिकाले एक्स्काभेटरमार्फत हिउँ फालेर सडक खुलाउने प्रयास जारी राखेको छ । ‘मेसिनले सडक खुलाउँदै थियो, फेरि हिमपात भयो,’ उनले भने, ‘अहिले पनि मेसिनले हिउँ फाल्ने क्रम जारी राखेको छ । तलबाट भने गाडी आएको छैन ।’ मनाङका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख लेखनाथ गौतमका अनुसार ओसिलो ठाउँमा हिउँ नपग्लिँदा पैदल हिँड्न समस्या छ ।

Inside Article Ads

उनका अनुसार एक सातायता मनाङमा करिब ३० जना पर्यटक आएको र उनीहरू गन्तव्यतर्फ गएको उनले बताए । ‘हिमपात हुँदा नहिँड्न भनेका छौं,’ उनले भने । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार तल्लो क्षेत्रबाट सडकको हिउँ फाल्न थालेर शनिबार माथिल्लो मनाङको हुम्डेसम्म पुर्‍याइएको थियो । सँगै सवारी चलेका बेला आइतबारको हिमपातले पुनः बिथोलिदिएको छ । उनले तल्लो क्षेत्रको दानक्युबाट सवारीसाधन उक्लिन नसकेको बताए । चामे बजार क्षेत्रमा सेना प्रहरीले हिउँ फाल्दै आएको उनले बताए । उनका अनुसार हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुने गरेको छ । मौसम खुलिरहेमा केही दिनमै माथिल्लो मनाङसम्मको बाटो खुलाइनेछ । बाटो बन्द भएर खाद्यान्नलगायत सामग्री ढुवानी ठप्प रहे पनि खाद्यान्न समस्या भने नरहेको उनले बताए ।

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.