Fast Nepal News

३ वर्षमा तटबन्ध निर्माण १५ प्रतिशत मात्रै

banner single news

दार्चुला — १० फागुन २०७८

दार्चुला , दुहु गाउँपालिका–३ र महाकाली नगरपालिका–१ को सीमा क्षेत्र श्रीबगर महाकाली नदी र निजङगाड खोलाको बीचमा छ । २०७० सालमा महाकाली नदीमा आएको बाढीले श्रीबगरको तल क्षेत्रमा व्यापक खेत कटान गरेको थियो । गत भदौमा निजङगाडको बाढीले थप कटान गर्‍यो । ५० घरपरिवार रहेको बस्ती र खेत जोखिममा परेपछि नदी नियन्त्रणमा आवश्यक पहल गरिदिन श्रीबगरवासीले दबाब दिन थालेका छन् । आइतबार उनीहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षण गराए । महाकालीमा भीषण बाढी आएको ५ वर्षपछि २०७६ सालबाट श्रीबगर क्षेत्रमा पक्की तटबन्ध निर्माण सुरु गरिएको थियो तर निर्माण थालेको झण्डै ३ वर्षमा १० प्रतिशत पनि काम नभएको श्रीबगरका कृष्ण बमले दाबी गरे । ‘श्रीबगरमा चैत मसान्तसम्म काम गर्न म्याद थपिएको हो तर फागुनको दोस्रो सातासम्म काम सुरु गरेका छैनन्,’ उनले भने । सबै पक्षले ठेकेदारलाई काममा तदारुकता देखाउन दबाब दिई आउँदो बर्खासम्म तटबन्ध निर्माण सक्न स्थानीयले सबै पक्षलाई आग्रह गरिरहेका छन् ।

महाकाली नदी नियन्त्रण आयोजनाका अनुसार श्रीबगर क्षेत्रमा २ वटा प्याकेजमा तटबन्ध बनिरहेको छ । राजेन्द्र निर्माण कम्पनीसँग आयोजनाले १८ नम्बर र १९ नम्बर प्याकेजमा काम गराइरहेको छ । आर्थिक वर्ष ०७६/७७ मा ठेक्का सम्झौता भएको प्याकेज १९ मा अहिलेसम्म १५ प्रतिशत मात्र काम भएको आयोजनाका निर्देशक कमल महतले जानकारी दिए । गत भदौमा श्रीबगर क्षेत्रमा बाढीले व्यापक क्षति गरेपछि तटबन्ध निर्माणमा तीव्रता दिन स्थानीयले माग गरिरहेका छन् । आयोजनाले पनि चाँडो निर्माण सक्न निर्माण कम्पनीलाई पटक–पटक ताकेता गरेको दाबी गरेको छ । माघ चौथो साता र आइतबार निर्माण व्यवसायीलाई लिखित रूपमा तत्काल निर्माणलाई तिव्रता दिई समयमै काम सम्पन्न गर्न पत्र काटिएको आयोजना निर्देशक बमले जानकारी दिए । स्थानीयका अनुसार महाकालीले प्रत्येक वर्ष नदी किनारको क्षेत्र कटान गरिरहेको छ । गत बर्खामा नदीले सय रोपनी खेत बगाएको स्थानीय मोहन बमले बताए । यही गतिले काम हुने हो भने बाढीले आउँदो बर्खामा झन बढी क्षति गर्ने उनको भनाइ छ ।

‘८ वर्षदेखि बाढीको जोखिम व्यहोर्दै आएका छौं । गत भदौमा आएको निजङगाड खोलाको बाढीले बर्खाको समयमा बस्न सक्ने स्थिति नै भएन,’ श्रीबगरका करन बलमे भने, ‘अघिल्लो बर्खाको बाढीले यहाँका केही घरधुरी विस्थापित भएर अन्यत्रै बसाइँ सरेका छन् ।’ उनले २०७० देखि बाढीको जोखिम भोग्दै आएको र अहिले निर्माण व्यवसायीले काम नगरिरहेको अवस्थामा आउने बर्खामा अन्तै गएर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता जनाए । त्यसैकारण पनि आउँदो बर्खामा बाढीबाट असुरक्षा नहोस् भन्न निर्माण कम्पनीलाई दबाब दिन प्रशासनको ध्यानाकर्षण गराउनुपरेको उनको भनाइ छ ।निर्माण कम्पनीले राजनीतिक शक्तिको आडमा काममा ढिलासुस्ती गरिरहेको स्थानीयको आरोप छ । तटबन्ध कार्यालयका प्राविधिकहरू पनि निर्माण कम्पनीको प्रभावमा परेको, पवित्र धार्मिक तीर्थस्थल गौरीकुन्ड तातोपानीको मूलसमेत नासिने गरी काम हुँदा पनि सम्बन्धित निकाय मौन बसेको आरोप स्थानीयको छ । स्थलगत निरीक्षण गरी दोषीमाथि कारबाही गरिनुपर्ने उनीहरूको माग छ ।

Inside Article Ads

निर्माण कम्पनीले चैत मसान्तसम्म म्याद पाए पनि अझै निर्माणस्थलमा कामदार देखिएका छैनन् । निर्माण कम्पनीले अबको ४ दिनमा काम सुरु गर्ने फोनमार्फत प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । प्रशासनमा धर्नामा बसेका श्रीबगरवासीलाई उपाध्यायले साताभित्रै काम सुरु गर्न लगाउने प्रतिबद्धता जनाएका थिए । ‘निर्माण व्यवसायीलाई स्थानीयकै सामुन्ने फोन गरेर चाँडोभन्दा चाँडो निर्माण कार्य थाल्न निर्देशन दिएका छौं,’ उनले भने, ‘स्थानीयको मागअनुसार बर्खाअगावै श्रीबगर बस्ती सुरक्षित हुने गरी काम गर्न भनिएको हो ।’ स्थानीयले तटबन्ध निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग भइरहेको दाबी गर्दै प्रशासनमा गुनासो समेत दर्ता गराएका छन् ।

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.