Fast Nepal News

तेस्रो लहरमा ज्यान गुमाएकाहरू दीर्घरोगी

banner single news

काठमाडौँ — ०८ फागुन २०७८

काठमाडौँ , कोभिड–१९ को तेस्रो लहरमा संक्रमणले प्रतिरोधक क्षमता अत्यन्त कम भएका दीर्घरोगीहरूको मात्र मृत्यु भएको पाइएको छ । खोप लगाएका पूर्ण स्वस्थ व्यक्तिले संक्रमणका कारण ज्यान गुमाएको पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । माघमा सुरु भएको तेस्रो लहरमा देशभरि ३ सय ९ जनाको कोभिडका कारण मृत्यु भएको सरकारी तथ्यांक छ । ‘तेस्रो लहरमा कोरोना संक्रमणले मृत्यु भएकामध्ये अधिकांश कोमर्विड अवस्थाका थिए,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । चिकित्सा विज्ञानको भाषामा एउटै व्यक्तिमा एकै समय एकभन्दा बढी रोग वा अवस्था रहनुलाई कोमर्विडिटी भनिन्छ । कोमर्विडिटीले प्रायः पुरानो वा दीर्घकालीन रोगलाई बुझाउँछ । मन्त्रालयका अनुसार तेस्रो लहरमा मृत्यु भएकामध्ये धेरैजसोमा मिर्गौलाको दीर्घकालीन रोग, दम (सीओपीडी), क्यान्सर, मधुमेह, दीर्घकालीन कलेजो रोग, क्षयरोग, बहुऔषधि प्रतिरोधी क्षयरोगलगायत रहेको पाइएको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले तेस्रो लहरमा मृत्यु भएकामध्ये करिब ६० प्रतिशतले खोप नलगाएको प्रारम्भिक आकलन रहेको जानकारी दिए ।

उनले पूर्ण खोप लगाएका व्यक्तिमा कोरोना संक्रमण हल्का वा मध्यमस्तरको मात्रै देखिएको बताए । यसपटक खोपका कारण संक्रमण जटिल भएर अत्यधिक मृत्यु, अस्पताल भर्ना वा अक्सिजनको आवश्यकता पर्ने स्थिति नआएको विज्ञहरू बताउँछन् । ‘यसपटक हामीकहाँ स्वस्थ व्यक्तिको कोभिडले मृत्यु भएको छैन । मृत्यु भएका सबैजसो बुढापाका, दम, मिर्गौला, कलेजो, क्यान्सर, अनियन्त्रित मधुमेहलगायतका दीर्घरोगी र खोप नलगाएका थिए,’ वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं छाती रोग विशेषज्ञ डा.प्रज्वल श्रेष्ठले भने, ‘३५ वर्षीय र ३९ वर्षीय युवाको संक्रमणले मृत्यु भएपछि हामीले थप बुझ्यौं । ३५ वर्षीयलाई क्यान्सर भएको र अर्का व्यक्ति दिनहुँ इन्सुलिन लिनुपर्ने मधुमेहका बिरामी भएको पायौं ।’ हाल कोभिड-१९ को तेस्रो लहर मत्थर हुने क्रममा छ । पहिलो लहर करिब ९ महिना र दोस्रो लहर करिब ५ महिनासम्म चलेकामा तेस्रो लहर दुई महिनाभित्रै मत्थर भएको हो । तेस्रो लहरमा अस्पताल बसाइसमेत सामान्य रूपमा ३ देखि ५ दिनसम्म देखिएको छ । डा. श्रेष्ठका अनुसार आईसीयू, भेन्टिलेटरमा भएकाहरूको लामै बसाइ भए पनि आमव्यक्ति ५ दिनभित्रै डिस्चार्ज हुने गरेका छन् । यसपटक प्रायः जसो बिरामीलाई सामान्य अर्थात् नेजल क्यानुलाले २–३ लिटर प्रतिमिनेट अक्सिजन दिनुपरेको थियो ।

Inside Article Ads

वीर अस्पतालमा तेस्रो लहरमा ७५ जनाको कोभिडले मृत्यु भएको थियो । जसमा करिब ६२ प्रतिशतले खोप लगाएका थिएनन् । अन्यमध्ये ३३ प्रतिशतले मात्र पूर्ण मात्राको खोप लगाएका थिए । त्रिवि शिक्षण अस्पतालमा तेस्रो लहरमा मृत्यु भएका ४० जनामध्ये प्रायः एक वा एकभन्दा बढी दीर्घरोग भएकाहरू थिए । शिक्षण अस्पतालमा मृत्यु भएकामध्ये करिब ४५ प्रतिशतले खोप लगाएको देखिएन । ‘यसपटक सामान्य स्वस्थ व्यक्तिको मृत्यु देखिएन,’ त्रिवि शिक्षण अस्पताल, कोभिड कमिटीका सदस्य डा. सविन थपलियाले भने । शिक्षण अस्पतालमा पहिलो लहरमा ३ सय ३० जना, दोस्रो लहरमा ४ सय २ जना र तेस्रो लहरमा ४० जनाको मृत्यु भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा माघयता ५ जनाको कोभिडले मृत्यु भएको अभिलेख छ । टेकु अस्पतालकी निर्देशक डा.मनीषा रावलका अनुसार मृत्यु भएका २ महिला र ३ पुरुष गरेर पाँचै जना कोमर्विड अवस्थाका थिए । उनीहरूमा एचआईभी, मधुमेह, दम, मिर्गौला फेललगायतका समस्या थियो । महामारी सुरु भएयता कोभिडले मुलुकभरमा ११ हजार ९ सय १७ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । शनिबारसमेत कोभिडले ४ जनाको मृत्यु भएको छ ।

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.