
धादिङ — ०८ फागुन २०७८
धादिङ , धादिङको बेनिघाटको मुख्य बजार, मानिसहरूको आवातजावत, पृथ्वी राजमार्गमा गुडिरहेका सवारीसाधनको लस्कर । त्यही राजमार्गकै छउैमा लेखिएको छ, ‘यहाँ निःशुल्क सेनेटरी प्याड पाइन्छ ।’ बेनिघाट रोराङ गाउँपालिका–५ बेनिघाट बजार क्षेत्रमा राखिएको केन्द्रबाट प्याड आवश्यक परेका किशोरी तथा महिलाहरूले निःशुल्क लिन सक्छन् । स्थानीय युवाको सहयोगमा सञ्चालनमा ल्याइएको प्याड वितरण केन्द्रलाई गाउँपालिका र प्रहरीले पनि सहयोग गरेका छन् । महिनाबारी अझै पनि लज्जाको विषयसँग जोडिन्छ ।
सहज रूपमा महिनाबारी व्यवस्थापनका लागि सेनेटरी प्याड अति आवश्यक रहेको केन्द्र स्थापनामा जुटेका दिपेश कँडेलले बताए । ‘महिनाबारीको सहज व्यवस्थापन गर्न पर्याप्त सेनेटरी प्याड हुनु अझै पनि नेपालका अधिकांश महिलाका लागि सपना जस्तै हो । यसैलाई मध्यनजर गर्दै निःशुल्क प्याड वितरण केन्द्र स्थापना गरेका छौं,’ कँडेलले भने । सुरुमा खुला ठाउँमा प्याड केन्द्र राख्दा महिलाहरू नआउने हुन् कि भन्ने डर पनि थियो । तर अत्यावश्यक परेकाले सहज रूपमा लैजान थालेको उनले बताए । राजमार्गका अन्य स्थानमा पनि यस्तै प्याड केन्द्र बनाउने योजनामा लागेको कँडेलको भनाइ छ ।
( कान्तिपुर दैनिक )
