Fast Nepal News

लिगलिगे साइकल दौड हुने

banner single news

गोरखा — ०८ फागुन २०७८

गोरखा , आगामी चैत ४ मा ‘दोस्रो लिगलिगे साइकल दौड’ प्रतियोगिता हुने भएको छ । इतिहास, मौलिक संस्कृति जगेर्ना, वातावरण संरक्षणको सन्देश दिन तथा वातावरणमैत्री साइकल संस्कारको विकास गर्न लिगलिग भिलेज स्पोर्टस्को आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो ।  ५२.९ किलोमिटर दूरीको साइकल दौड प्रतियोगितामा पहिलोदेखि दसौं हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई २० र तेस्रोलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको भिलेज स्पोर्टस्का अध्यक्ष सञ्जीव रानाले बताए ।

दौड अन्तर्राष्ट्रिय मापदण्डमा नेपाल साइक्लिङ संघको राष्ट्रिय नियमानुसार हुनेछ । यसले स्थानीय सांस्कृतिक संरक्षण, पर्यापर्यटन तथा साहसिक खेलको विकास गर्ने लक्ष्य लिइएको छ । ‘प्रतियोगिताले लिगलिगकोटको प्रचारप्रसारमा सहयोग पर्ने र आन्तरिक तथा बाह्य पर्यटन विकासमा टेवा पुग्ने आशा लिएका छौं,’ उनले भने । साइकल दौड प्रतियोगिताका लागि छिमेकका गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र राइनास नगरपालिकाले पनि सहयोगको प्रतिबद्धता जनाएको छ ।
Inside Article Ads

लिगलिगकोटबाट सुरु हुने साइकल दौड आँपपिपल भन्ज्याङ हुँदै लिगलिगकोटमा आएर टुंगिने छ । पालुङटार नगरपालिकामा पर्ने लिगलिगकोट चौबिसे राज्यकालमा छुट्टै राज्य थियो । जहाँ घले जातिले दसैंका दिन लिगलिगकोटसम्म दौडिएर जसले जित्छ उही राजा बन्ने प्रचलन थियो । दौडिएर राजा बन्ने परम्परालाई पछ्याउँदै इतिहासलाई जीवन्त राख्न प्रतियोगिताले सघाउने विश्वास लिइएको छ । लिगलिगकोट क्षेत्रलाई खेल पर्यटनका रूपमा विकास गराउन प्रतियोगिताले सघाउने अध्यक्ष रानाले बताए ।

( कान्तिपुर दैनिक )

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.