
अछाम — ०८ फागुन २०७८
अछाम , तुर्माखाँदकी रमिला (नाम परिवर्तन) २७ वर्षकी भइन् । ८ कक्षा पढ्ने बेला एउटै स्कुलका ९ कक्षा पढ्ने साथीसँग उनको प्रेम बस्यो । १६ वर्षकै उमेरमा प्रेमविवाह गरिन् । श्रीमान् एसएलसी पास गरेर उच्च शिक्षाका लागि नेपालगन्ज गए । एसएलसी दिने बेलासम्म श्रीमान्–श्रीमतीको सम्बन्ध राम्रै थियो । रमिला कमलबजारमा व्यापार गरेर पैसा कमाउन थालिन् । तर, पढाइ सकिने बेलादेखि श्रीमान्सँगको दूरी टाढा हुन थाल्यो । ‘फोन नउठाउने र परिवारको सम्पर्कबाट बाहिर हुन थाले,’ रमिलाले भनिन्, ‘मैले अरू नै केटी मन पराएको छु, त्यसलाई घरबाट निकालिदिनू भनेर सासुससुरालाई फोन गर्दा रहेछन् ।’ लामो समयबाहिर बसेका श्रीमान्ले अर्को बिहे गरेँ भनेर एक जना केटीलाई घरमै समेत ल्याएको रमिलाले सुनाइन् ।
‘मैले ती महिलालाई सम्झाइबुझाइ गरेपछि उनी आफ्नो माइतीघर फर्किन्,’ उनले भनिन् । बिहे भएको १० वर्षमा उनीहरू ४ वर्षसम्म मात्रै अलिअलि बोल्थे । पटकपटक आफूमाथि अन्याय भएको महसुस गरेपछि रमिलाले दिदीको सहयोगमा प्रहरीमा उजुरी दिइन् । करिब एक महिना मंगलसेनमा रहेको सेफ होममा बसिन् । सेफ होममा दुवैलाई राखेर परामर्श दिन थालियो । ‘श्रीमान्लाई छाड्ने कुरा कल्पना पनि गरेको थिइनँ । समस्या उहाँबाटै थियो । अन्तमा कुरा बुझ्नुभयो,’ उनले भनिन्, ‘अहिले त श्रीमान् र परिवार सबैसँग एकदम राम्रो सम्बन्ध छ ।’
काउन्सिलिङपछि अहिले उनीहरूले नयाँ जीवन पाएका छन् । सिन्धुपाल्चोकमा जागिरे श्रीमान् गाउँ फर्किएर पढाउन थालेका छन् । बिहे भएको १० वर्षपछि उनी आमा बनेकी छन् । मंगलसेनकी मुना (नाम परिर्वन) को करिब २३ वर्षअघि विवाह भयो । दाम्पत्य जीवनपछिका करिब १४ वर्ष उनले शारीरिक र मानसिक यातना सहेर बिताइन् । ८ वर्षअघि उनको जीवनमा नसोचेको घटना भयो । पटकपटक मदिरा सेवन गरिरहने श्रीमान्ले मानसिक दुर्व्यवहार गरिरहे । कुटपिट, गालीगलौजले उनको मानसिक सन्तुलन नै गुम्यो ।
अन्ततः सासू र श्रीमान्ले घरबाटै निकालिदिए । उता श्रीमान्ले अर्को विवाह गरे । मंगलसेन नगरपालिकाले सेफ होमसँगको समन्वयमा आर्थिक सहयोग गरी उनलाई उपचारका लागि काठमाडौं पठायो । ‘उपचारमा २ लाख ५० हजारभन्दा बढी खर्च भएको छ,’ नगर उपप्रमुख सरिता उपाध्यायले भनिन्, ‘ अहिले उनलाई सन्चो भएको देख्दा ठूलै सफलता मिलेजस्तो महसुस भएको छ ।’ काठमाडौंमा ३ महिना र त्यसपछि सेफ होममा राखेर उपचार गरेपछि उनी पुरानै अवस्थामा फर्किएकी छन् ।
( कान्तिपुर दैनिक )
