
दोलखा — ०८ फागुन २०७८
दोलखा , विद्यालय जाने उमेर समूहका बालबालिकामा मुटुको समस्या बढ्दो पाइएको छ । विद्यालयमै पुगेर गरिएको परीक्षणमा मुटुमा प्वाल पर्ने तथा सानै उमेरमा बाथको समस्या हुने बालबालिकाको संख्या उच्च देखिएको हो । तामाकोसी गाउँपालिका–५ किर्नेटारको सामुदायिक विद्यालयमा ५ वर्षमाथिका बालबालिकामा मुटु परीक्षण गर्दा ६ जना बालबालिकामा बाथ र मुटुमा प्वाल परेको देखिएको हो । नेपाल हर्ट फाउन्डेसनको सहयोगमा धुलिखेल अस्पतालले विद्यालयका १ सय ६ जना बालबालिकामा ईसीजी र भिडियो एक्स–रे गरिएको थियो । तीमध्ये ६ जनामा मुटुमा समस्या देखिएको बाल मुटुरोग विशेषज्ञ अनिश जोशीले बताए । अस्पतालले समुदायमै केन्द्रित रहेर निःशुल्क बालबालिकाको मुटुको स्क्रिनिङ गरिरहेको छ । सामान्यतया एक हजार जनामा परीक्षण गर्दा एक जनामा बाथरोग देखिन्छ । श्रेष्ठका अनुसार ३ सय जनाको परीक्षण गर्दा १२ जना बालबालिकामा मुटुमा समस्या देखिएको छ ।
सुगम भेगका बालबालिकामा मुटुमा समस्या देखिएको छ । चार जना बालबालिकामा जन्मजात मुटुमा प्वाल देखिएको उनले बताए । अन्य ८ जनामा भने बाथ हुन सक्ने उनले जनाए । पछिल्लो समयमा बालबालिकाको मुटुमा समस्या देखिनु खानपान र प्रदूषणका कारण भएको उनले बताए । ‘सानै उमेरमा बालबालिकाको मुटुको परीक्षण गरिएन भने समस्या हुन्छ,’ उनले भने, ‘संवेदनशील अंग भएकाले परीक्षण गरियो भने तत्काल उपचार सम्भव हुन्छ ।’ बालबालिकामा मुटुमा समस्या देखिएपछि निमोनिया हुने र तौल कम हुने उनले बताए । बालबालिकाको घाँटीमा हुने समस्या समयमै परीक्षण नगरिए मुटुमा समस्या देखिने उनले बताए । ‘बालबालिकामा घाँटीमा समस्या देखिएपछि तत्काल उपचार गर्नुपर्छ,’ उनले भने, ‘घाँटीको समस्या तत्काल उपचार नभए त्यसले मुटुमा असर गर्छ ।’ बालबालिकाको मुटुको उपचार सरकारले निःशुल्क गर्दै आएको छ । तर अभिभावकले सावधानी नअपनाउँदा बालबालिकामा मुटुको समस्या बढ्दो छ ।
दुर्गम भेगका बालबालिकामा मुटुको धेरै समस्या रहेको हुन सक्ने चिकित्सक श्रेष्ठले बताए । खासगरी कोरोना महामारीपछि बालबालिकाको मुटुमा समस्या बढ्दै गएको उनले बताए । गाउँघरमा कतिपय कोरोना संक्रमित बालबालिकाको समयमै परीक्षण र उपचार नहुँदा मुटुमा समस्या आएको हुन सक्ने उनको भनाइ छ । ‘दुर्गम भेगका बालबालिकाको कोरोनाका बेला परीक्षण र उपचार भएन,’ उनले भने, ‘त्यसको असर अहिले मुटुमा देखिएको छ, हामी थप अध्ययन गरिरहेका छौं ।’ मुटु परीक्षणको सचेतनाका लागि गाउँमै पुगेर परीक्षण गर्ने तयारी भइरहेको उनले बताए । उनका अनुसार सबैभन्दा बढी समस्या ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा देखिएको छ ।
अहिले मुटुमा देखिएको समस्या निको पार्न शल्यक्रिया गर्नुपर्ने पनि हुन सक्ने श्रेष्ठले बताए । ‘उनीहरूको उपचार निःशुल्क हुन्छ । थप परीक्षणका लागि सम्पर्कमा आउनु भनेका छौं,’ उनले भने, ‘यी बालबालिकालाई निरन्तर फलोअप गरेर उपचार गर्छौं ।’ जन्मजात मुटुमा प्वाल परेका ४ बालबालिकाको समयमै उपचार गरिने र अन्य ८ जनामा थप परीक्षण गरिने उनले जनाए । त्यस्तै, गर्भवतीका बेला नियमित जाँच नगराउँदा पनि बालबालिकाको मुटुमा असर देखिने उनले जनाए । ‘अर्को कुरा गर्भवती हुँदा पोषण नपुगेको खण्डमा पनि त्यस्तो समयस्या हुन्छ,’ उनले भने ।
( कान्तिपुर दैनिक )
