
सिन्धुली — ०८ फागुन २०७८
सिन्धुली , सिन्धुलीका ४६ वडा अझै एम्बुलेन्सविहीन छन् । ९ वटा स्थानीय तहका ७९ वडामध्ये हालसम्म ३३ वटामा मात्र एम्बुलेन्स सेवाको सुविधा छ । यी सबै वडामा १ सय ७ वटा सरकारी स्वास्थ्य संस्था छन् । तीमध्ये ३२ वडाका स्वास्थ्य संस्थामा एम्बुलेन्स सुविधा रहेको स्थानीय तहले जनाएका छन् । सुनकोसी गाउँपालिकाका सबै वडा एम्बुलेन्स सेवाको पहुँचभित्र छन् । ७ वटा वडा रहेको पालिकाका सबै वडामा एम्बुलेन्स सुविधा रहेको अध्यक्ष दीपा बोहोरा दाहालले बताइन् । उनका अनुसार पालिकामा ७ वटै वडामा गरी ११ स्वास्थ्य संस्था छन् । कमलामाई नगरपालिकाका १४ वडामध्ये १, ३, ६, ८, ९, र ११ मा मात्रै एम्बुलेन्स सेवा छ । कमलामाई नगरपालिकामा १४ वटा सरकारी स्वास्थ्य संस्था रहेको नगरपालिका स्वास्थ्य शाखा संयोजक सुरेश पासवनले बताए ।
तीनपाटन गाउँपालिकाका ११ वटा वडामध्ये १ र ११ मा मात्रै एम्बुलेन्स सेवा छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाले बाँकी ९ वटा वडामा एम्बुलेन्स सेवा उपलब्ध नभएको जनाए । फिक्कल गाउँपालिकाका ६ वटा वडामध्ये २ र ५ मा मात्र एम्बुलेन्स सुविधा छ । गोलन्जोर गाउँपालिकाका ७ वडामध्ये वडा नम्बर ३ मा मात्रै एम्बुलेन्स छ । यसैगरी, दुधौली नगरपालिकाका १४ वडामध्ये १, ५, ६, ९, ११, १२, १३ र १४ मा एम्बुलेन्सको सुविधा रहेको छ । नगरपालिकामा १६ वटा सरकारी स्वास्थ्य संस्था रहेका छन् । घ्याङलेख गाउँपालिकाका ५ वडामध्ये वडा नं ३ मा मात्रै एम्बुलेन्स छ भने १० वटा स्वास्थ्य संस्था छन् । झन्झटिलो प्रक्रियाका कारण एम्बुलेन्स खरिदका लागि समस्या भएको अध्यक्ष जगतबहादुर भोलनले बताए । मरिण गाउँपालिकाका ७ वटा वडामध्ये ३, ६ र ७ मा मात्रै एम्बुलेन्स छ । हरिहरपुरगढी गाउँपालिकाका ८ वटा वडामध्ये २, ४ र ७ मा एम्बुलेन्स छ । मरिणमा ९ वटा र हरिहरपुरगढीमा ११ वटा स्वास्थ्य संस्था छन् ।
( कान्तिपुर दैनिक )
