Fast Nepal News

आश्रयस्थलमा रमाउँदै बालबालिका

banner single news

बर्दिया — ०८ फागुन २०७८

बर्दिया ,जिल्लाको बारबर्दिया–१० बैदीका १६ वर्षीय राजकुमार थारू आमा–बाबु सानैमा बितेपछि दिदीको घरमा बसेका थिए । नगरपालिकाको बेलभारमा बाल संरक्षण केन्द्र सञ्चालनमा आएपछि कक्षा ८ मा पढ्दै गरेका उनलाई तीन वर्षअघि जनप्रतिनिधिले त्यहीँ लगेर राखे । कक्षा ८ र ९ मा उनी प्रथम भए । अहिले उनी आईएस्सी पढ्दै छन् । उनको इच्छा डाक्टर बन्ने छ । जनतासँग मेयर कार्यक्रमअन्तर्गत बारबर्दियाद्वारा सञ्चालित त्यस केन्द्रमा अभिभावक गुमाएका र असहाय २४ बालबालिकालाई संरक्षण दिइएको छ । अभिभावक गुमाएका र असहाय त्यस्ता बालबालिकाको पढ्ने इच्छालाई नगरपालिकाले पूरा गर्नेर् बारबर्दिया नगर प्रमुख दुर्गाबहादुर थारूले बताए । पालिकामा डाक्टरको अभाव भएकाले भविष्यमा राजकुमारजस्ता विद्यार्थीको अध्ययन पूरा भएपछि नगरमै रोजगारी मिल्ने उनले सुनाए ।

बारबर्दियाकी १४ वर्षीया चाँदनी शाहीले बुबाको मृत्युपछि आर्थिक भारले पढ्न पाएकी थिइनन् । जनप्रतिनिधिको सहयोगमा उनीसँगै भाइ पनि अहिले बाल संरक्षण केन्द्रमा बसेर नजिकैको सिम्मा माध्यमिक विद्यालयमा अध्ययन गर्दै छन् । बाबुआमाको जस्तै माया पाएकाले बाल संरक्षण केन्द्रमा रमाएको बालबालिकाले सुनाए । बारबर्दिया–११ बेलभारमा ०७४ सालमा पालिकाले असहाय बालबालिकाका लागि आश्रयस्थल सञ्चालन गरेको हो । यहाँ एक जना शिक्षक पनि छन् । जसले साँझ–बिहान पढाउने र विद्यालयले दिएको होमवर्क हेर्ने गर्छन् । आश्रयस्थलमा बालबालिकालाई खाना र नास्ताको उचित व्यवस्था गरिएको छ ।

Inside Article Ads

वार्षिक २५ लाख बजेट आश्रित बालबालिकाका लागि पालिकाले छुट्याएको नगर प्रमुख थारूले बताए । बिहान र बेलुकी बालबालिकालाई शारीरिक व्यायामदेखि खेलकुदमा सरिक गराइने वार्डेन गणेश चौधरीले सुनाए । खेलकुदलगत्तै केही बेर मनोरन्जनका लागि टेलिभिजनमा समाचार, बाल कार्यक्रमलगायत ज्ञानवर्द्धक सामग्री देखाइने गरेको उनले बताए । सात जना बालिका र १७ जना बालक आश्रयस्थलमा रहेका छन् । सात कट्ठा जग्गामा रहेको आश्रयस्थलमा छात्रावासका लागि नयाँ पक्की भवन निर्माण हुँदै छ ।     

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.