Fast Nepal News

आठ वर्षदेखि सिँचाइ आयोजना ठप्प

banner single news

पर्सा — ०८ फागुन २०७८

पर्सा , पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले आवश्यक तदारुकता नदेखाउदा घोरे मसान शितलपुर सिंचाई उपभोक्ता समितिको काम ८ बर्ष देखि रोकिएको छ । ठोरी गाउपालिका–५ सुवर्णपुरका बासिन्दाको अगुवाईमा यो समितिको काम आर्थिक बर्ष २०७२/०७३ मा सुरु गरिएको थियो । तर निकुञ्ज प्रशासनले यो आयोजनाको लागि प्रशासनिक काम र इआइएका लागि अनुमति नदिंदा ठूलो रकम खर्च गरी सकेको यो परियोजना बीचमै अलपत्र परेको समितिका अध्यक्ष तथा तत्कालिन सुवर्णपुर गाबिसका अध्यक्ष जरी लामा बताउछन् । ‘त्यति बेला हामीले निक्कै दुःखजिलो गरी यो परियोजनाको काम सुरु गरेका थियौं,’ उनले भने, ‘निकुञ्जको कोर एरियामा यो सिंचाई आयोजनाको मुहान पर्ने भएकाले निकुञ्जको सहयोग र अनुमति आवश्यक पर्न गयो, तर निकुञ्ज प्रशासनले आवश्यक तदारुकतानै देखाई दिएन ।’ 

सुवर्णपुर मात्र नभई छिमेकी जिरा भवानी गाउपालिकाको वडा नं १,२ र ५ को समेत गरी २ हजार १ सय हेक्टर खेती योग्य जग्गालाई सिंचित गर्न सक्ने यो सिंचाई आयोजनामा नेपाल सरकारबाट प्राप्त १ करोड ३६ लाख रुपैया बजेट समेत खर्च भई सकेको लामा बताउछन् ।    ‘हामीले निकुञ्जको घोडे मसान खोलाबाट निकुञ्ज बाहिर सम्म २५ किमी लामो नहर ल्याएर २ वटा गाउपालिकाको ठूलो भाग सिंचित गर्ने गृहकार्य थालेका थियौं,’ उनले भने, ‘घोडे मसान खोलामा ड्याम बाध्न नपाए पनि सुवर्णपुरमा पानी जम्मा गर्न ठूलो पोखरी खन्ने, नाला, तटबन्ध, तार जाली लगायतको काम गर्न हामीले ठूलो बजेट खर्च गरी सकेका थियौं, तर निकुञ्ज प्रशासनको अनुमति बिना बाँकी काम अघि बढ्न सक्ने अवस्था भएन ।’

आफूहरूले २०२१ साल देखिनै घोडे मसान खोलाबाट अस्थाई कुलो ल्याएर थोर बहुत सिंचाई गरेपनि त्यो कुलो व्यवस्थित नरहेको र त्यसले सुवर्णपुरको सानो हिस्सा मात्र सिंचित हुने गरेकाले परम्परागत कुलोलाई वृहद् सिंचाई परियोजनामा परिणत गर्ने प्रयास आफूहरूले गरेको उनले बताए । उपभोक्ता समितिका सचिव सूर्य कोइरालाले उमेश झा संघिय सरकारको सिंचाई मन्त्री हुदा समितिले १ करोड ३६ लाख रुपैया सरकारी बजेट पाएको र सोही बजेटको सदुपयोग गरी निकुञ्ज बाहिर आयोजनाको काम समेत सम्पन्न गरेको बताए ।

Inside Article Ads

‘निकुञ्ज बाहिर त काम गरियो, तर निकुञ्ज क्षेत्रमा काम गर्न निकुञ्ज प्रशासनको अनुमति र सहयोग दुबै आवश्यक भयो,’ उनले भने, ‘त्यति बेला जलस्रोत तथा सिंचाई विकास मन्त्रालयले निकुञ्ज प्रशासनलाई पत्राचार गरी यो आयोजनाको इआइए गरी दिन सहयोग मागे पनि निकुञ्ज प्रशासनले त्यस बारेमा कुनै तदारुकता देखाई दिएन ।’ पर्सा राष्ट्रिय निकुञ्जका प्रवक्ता एवम् सहायक वार्डेन सन्तोष भगतले यो सिंचाई परियोजना र यसको प्रशासनिक काम बारे आफूलाई कुनै जानकारी नरहेको बताए ।

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.