
काठमाडौँ — ०८ फागुन २०७८
काठमाडौँ , गायक गम्बु शेर्पाको ‘फर्किएका पाइला’ पुस्तक कृति सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओखलढुंगा साहित्य कला समाजले आयोजना गरेको समारोहमा सार्वजनिक गरेका हुन् । लामो समय अमेरिकामा रहेर स्वदेश फर्किएपछि शेर्पाले कृति प्रकाशनमा ल्याएका हुन् । ‘अठार वर्ष अमेरिकामा बसें,’ ओखलढुंगाको खिजिदेम्बा–६ फेदी गाउँमा जन्मिएका ४४ वर्षीय शेर्पाले भने, ‘मलाई मातृभूमिको मायाले कहिल्यै छोडन । त्यसैले हामी कलाकारलाई अमेरिकाले दिएको एक्स्ट्रा अर्डिनरी सिटिजनसिप त्यागेर आएँ ।
दूतावासमा त्यागको कसम खुवाएको पत्र पाएसँगै नेपाली नागरिकता प्राप्त गरेको छु । अब म स्वदेशमै सामाजिक काममा समर्पित हुन्छ ।’ गम्बुले आफ्नी आमाको नाममा ‘पसी शेर्पा ट्रस्ट नेपाल’ गठन गरी सोही ट्रस्टबाट पुस्तक प्रकाशन गरेका हुन् । ‘पुस्तक बिक्रीबाट प्राप्त रकम ट्रस्टमार्फत् महिला तथा बालबालिकाको सशक्तिकरणका काम गरिनेछ,’ सार्वजनिक समारोहमा लेखक गम्बुले घोषणा गरे । आत्मसंस्मरणका रूपमा प्रस्तुत पुस्तक शेर्पा जाति, संस्कृति, सामाजिक व्यवस्थाको चर्चा गरेका छन् ।
‘शेर्पा समुदायमा धेरै कुरा नसुधारी भएको छैन,’ गम्बुले लेखेका छन्, ‘घरमा घ्याम्पाका घ्याम्पा रक्सी राख्नै पर्छ । रक्सीका घ्याम्पा नदेख्दा आफ्नो लाज हुन्छ, समाजमा इज्जत जान्छ भन्ने पुरानो मान्यता छ । यो बदल्नै पर्छ ।’ यसैगरी विश्व भ्रमणको अनुभव र नेपालको पर्यटनबारे पनि पुस्तकमा उल्लेख गरेको उनले बताए । यस्तै हास्यव्यंग्य कलामा प्रसिद्धि कमाएर बेपत्ता भएका साम्दे शेर्पाको योगदानको चर्चा गरेका छन् । पुस्तकबारे साहित्यकार रामप्रसाद पन्त, समाजका अध्यक्ष राज राई, सांसद जिपछिरिङ लामा, एडी शेर्पालगायतले चर्चा गरेका थिए ।
( कान्तिपुर दैनिक )
