
पाल्पा — ०८ फागुन २०७८
पाल्पा . नेपाली कांग्रेस पाल्पाले जिल्लाका १० स्थानीय तहअन्तर्गत ७८ वडाका २ हजार पुराना कांग्रेस कार्यकर्तालाई एकै पटक शनिबार सम्मान गरेको छ । तानसेन नगरपालिकाको वडा ४, ११ र १३ बाहेक सबै वडामा प्रजातन्त्र दिवस मनाउने कार्यक्रममा पुराना कांग्रेस कार्यकर्तालाई सम्मान गरेको हो । कांग्रेस पाल्पाले निरंकुश पञ्चायती व्यवस्थाविरुद्धका विभिन्न आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ को प्रजातान्त्रिक आन्दोलनमा सहभागी पुराना नेता तथा कार्यकर्तालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेको छ । जिल्लाका पार्टी सभापति हिमालदत्त श्रेष्ठका अनुसार २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलन, कांग्रेस स्थापनाकालदेखि जेल/गिरफ्तारी, जनमुखी कार्यक्रम, निर्वाचनहरूमा कांग्रेसको पक्षमा निरन्तर क्रियाशील रहेका कांग्रेस कार्यकर्ताहरूलाई सम्मान गरिएको हो ।
( कान्तिपुर दैनिक )
