
मकवानपुर — ०६ फागुन २०७८
मकवानपुर , वाग्मती प्रदेश सरकारले अवैतानिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने भएको छ । प्रदेश सरकार कार्य सञ्चालन नियमावलीको अनुसूची हेरेफेर गरेर अवैतानिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने प्रावधान थप गरिएको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यकताअनुसार अवैतानिक र विज्ञ सल्लाहकार नियुक्त गर्न सकिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले जानकारी दिए । ‘अवैतानिक र विज्ञ सल्लाहकारलाई कुनै पनि किसिमको सेवासुविधाको व्यवस्था गरिएको छैन । हामीलाई परेको समस्याको गाँठो फुकाउन नियुक्त गर्न लागेका हौं ।
मन्त्रीहरूले आफूलाई परेको समस्या समाधान गर्न नियुक्त गर्न सक्ने बाटो मन्त्रिपरिषद्को बैठकले खोलिदिएको हो,’ उनले भने । बैठकले प्रदेश यातयाात सञ्चालन व्यवस्थापन बोर्डका अध्यक्ष जगतचन्द्र ढुङ्गानाले दिएको राजीनामा स्वीकृत गरेको छ । प्रदेश उपसभामुख राधिका तामाङले अमेरिकामा हुने फिल्म अवार्ड कार्यक्रममा सहभागी हुन दिएको निवेदनमाथि निर्णयका लागि संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि गरिएको प्रवक्ता शर्माले बताए । उनले प्रदेशका विभिन्न जिल्लामा निर्माण गरिएका शीत भण्डार सञ्चालनसम्बन्धी कार्यविधिसमेत पास गरिएको जानकारी दिए ।
प्रदेश सरकारले स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरी निर्माण गरेका ९ वटा शीतभण्डार छिट्टै सञ्चालनमा आउने उनको भनाइ छ । दोलखास्थित चरिकोट अस्पतालको नाम परिवर्तन गरेर पशुपति चौलागाईं स्मृति अस्पताल नामकरण गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रदेशसभा सदस्य चौलागाईंको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । बैठकले स्वास्थ्य सचिवको संयोजकत्वमा प्रदेश स्वास्थ्य बिमा समिति गठन गरेको छ । प्रदेश युवा परिषद् उपाध्यक्ष सन्तोष चौलागाईंलाई पदमुक्तसमेत गरिएको प्रवक्ता शर्माले जानकारी दिए । ‘प्रदेश खेलकुद विकास नियमावली पारित गर्दै प्रथम प्रदेश खेलकुद प्रतियोगिता फागुन २७ देखि चैत ५ सम्म गर्ने निर्णय पनि भएको छ,’ उनले भने ।
( कान्तिपुर दैनिक )
