Fast Nepal News

महावीर पुनलाई ‘गण्डकी रत्न’

banner single news

कास्की — ०५ फागुन २०७८

कास्की , विज्ञान, प्रविधि, सूचना, सञ्चार एवं वायरलेस प्रविधिद्वारा देशमा योगदान पुर्‍याएको भन्दै अभियन्ता महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मान गर्ने भएको छ । प्रदेश सरकारको चौथो वार्षिकोत्सवका अवसरमा बुधबार यो घोषणा गरिएको हो । गण्डकी प्रदेश सरकारको स्थापना भएको बुधबार चार वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ । साथै प्रदेश सरकारद्वारा चार वर्षको उपलब्धि पुस्तक विमोचन गर्दै । प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने प्रदेशभित्रका ३ जनासम्मलाई गण्डकी रत्नबाट सम्मान गर्ने जनाएको थियो । यसका लागि भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । पहिलो पटक भएकाले उक्त समितिले पुनको मात्रै नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

म्याग्दीको अन्नपूर्ण–८ नागीमा जन्मिएका पुनले ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका हुन् । आविष्कार केन्द्रबाट नयाँ सोच भएका युवालाई उद्यमी बनाउन निःशुल्क अध्ययन अनुसन्धान वातावरण मिलाउँदै आएका महावीरले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरे । सोही विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिसमेत गरेका महावीर रोमन म्यागासेसे अवार्डबाट सम्मानित हुन् । प्रदेशको गौरव बढाउन विशिष्ट योगदान पुर्‍याएको हुँदा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महावीरलाई सम्मान गरिने निर्णय गरेको समिति संयोजक खड्काले बताए ।

Inside Article Ads

सरकारले पुस २६ मा बसेको मन्त्रिपरिषद्को बैठकले ‘विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरेको थियो । यो प्रदेशको सर्वाधिक ठूलो सम्मान हो । गण्डकी रत्नबाट सम्मानितलाई सार्वजनिक सभा, समारोहमा प्रदेश सांसदसरहको मान्यता दिने, प्रदेश अस्पतालमा निःशुल्क सुविधा दिने, संरक्षणविहीन भएमा प्रदेश सरकारले संरक्षकत्व दिने, सार्वजनिक सेवालाई प्राथमिकतादेखि प्रदेशभित्रका विमानस्थलमा अति विशिष्ट कक्ष प्रयोग गर्न सुविधा दिइनेछ । वार्षिकोत्सवमा प्रत्येक जिल्लाबाट एक/एक गरी ११ वटा कार्यालयलाई नमुना कार्यालय घोषित गरिएको थियो भने, डिभिजन वन कार्यालय तनहुँलाई सर्वोत्कृष्ट घोषित गरिएको थियो । विभिन्न निजामती कर्मचारीलाई सर्वोत्कृष्ट, उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार र प्रोत्साहन पुरस्कारको पनि घोषणा गरिएको थियो ।

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.