
ओन्टारियो — ०२ फागुन २०७८
ओन्टारियो , क्यानडा र अमेरिका आवतजावत गर्ने मुख्य पुलबाट प्रहरीले प्रदर्शनकारीलाई हटाएको छ । ओन्टारियोस्थित विन्डसोरको एम्बासडर पुलमा ट्रक चालकहरूले गरेको प्रदर्शनका कारण दुई देशबीचको व्यापार निकै प्रभावित भएको थियो । त्यसयता प्रहरीले केही दिनदेखि प्रदर्शन अन्त्यका लागि चेतावनी दिँदै आएको थियो । शुक्रबार एक न्यायाधीशले प्रदर्शन तत्काल रोक्न आदेश दिएका थिए । तर विरोध जारी राखेपछि प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरेको जनाइएको छ । त्यस्तै राजमार्ग अवरुद्ध पार्न प्रदर्शनकारीले राखेका गाडीहरू प्रहरीले तानेर हटाएका बीबीसीले जनाएको छ ।
विन्डसोर प्रहरीका उपप्रमुख जासन बेलाइरले अब उक्त क्षेत्रमा कुनै समस्या नरहेको बताएका छन् । यद्यपि, पुल भने सञ्चालनमा नआइसकेको समाचार संस्था रोयटर्सले जनाएको छ । क्यानडा–अमेरिका सीमापार गर्ने ट्रक चालकहरूलाई कोभिड खोप अनिवार्य गरिएपछि त्यसको विरोधमा प्रदर्शन चर्केको हो । यसअघि चालकहरूले विरोध प्रदर्शन चर्काएपछि राजधानी ओटावामा आपत्काल घोषणा गरिएको थियो । ओटावाका मेयर जिम वाट्सनले ‘ओटावा सहर पूर्ण रूपमा नियन्त्रणबाहिर गएको’ भन्दै आपत्काल घोषणा गरेका थिए ।
प्रदर्शनका सहभागीले दुर्व्यवहार, चोरी, घृणा अपराध र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याएपछि प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको जनाइएको छ । त्यस्तै उनीहरूले लगातार हर्न, साइरन र पटाका पड्काउने गरेका थिए । क्यानडा–अमेरिका सीमा वारपार गर्ने १ लाख २० हजार ट्रकका चालकमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको जनाइएको छ । कोभिड–१९ बाट क्यानडामा हालसम्म ३१ लाख २३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ३४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
( कान्तिपुर दैनिक )
