
कञ्चनपुर — ०२ फागुन २०७८
कञ्चनपुर , जोगबुडा नदीपारिको दोधारा चाँदनी नगरपालिका–७ को कञ्जभोज पालिकाकै दुर्गम बस्तीमा पर्छ । आउजाउ गर्न झोलुंगे पुल थियो तर मालसामान ढुवानी तथा बिरामी बोक्न एम्बुलेन्स जाने बाटो थिएन । जसका कारण बिरामीले दोधारा स्वास्थ्य चौकी ल्याउन वा दोधारा चाँदनी क्षेत्रका गम्भीर बिरामीलाई सीमावर्ती भारतीय बजार खटीमा लैजान स्ट्रेचरमा खोला तार्नुपर्ने बाध्यता थियो । जोगबुडा नदीमा पक्की पुल निर्माण भएपछि एम्बुलेन्सको सुविधा मात्रै भएको छैन । दोधारा चाँदनी नगरपालिकासँग सडक सम्पर्कमा नआएको बस्तीमा अहिले सहजै यातायातका साधन चल्न थालेका छन् । ‘स्थानीयलाई किनमेलका लागि सीमावर्ती बजारसम्म आउजाउ गर्न निकै सजिलो भएको छ,’ दोधारा चाँदनी–७ का वडाध्यक्ष ज्ञानेन्द्र क्षत्रीले भने, ‘पुल नहुँदा आधा वडा सम्पर्क विच्छेद जस्तै थियो ।’ केही वर्षअघिसम्म कञ्जभोज क्षेत्र सुक्खा बन्दरगाहका लागि निकै चर्चामा आएको थियो । ५ वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले समेत सुक्खा बन्दरगाह निर्माणकै लागि उक्त क्षेत्र अवलोकन गरेका थिए । त्यसयता उक्त क्षेत्रमा पटकपटक सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययनका लागि थुप्रै टोलीहरू आए ।
पछिल्लो समय गत वर्ष सुक्खा बन्दरगाह निर्माणस्थल कञ्जभोजको साटो दोधारा चाँदनी नगरपालिका–१ मा निर्माणको प्रक्रिया अघि बढेको छ । सुक्खा बन्दरगाह निर्माण भएपछि सडकसँगै पुल बनेर सहज हुने अपेक्षा थियो । सुक्खा बन्दरगाह निर्माणको साटो लम्बिने र अन्तिममा अर्कै स्थानमा सरेपछि कञ्जभोजका स्थानीय निराश बनेका थिए । पछिल्लो पटक १६ करोड बढीमा दुई लेनको पक्की पुल निर्माण भएपछि उनीहरूमा दोधारा चाँदनीसँग मात्रै नभई देशकै भूगोलसँग जोडिएजस्तो अनुभूति भएको छ । ‘पुल नहुँदा हामी त भारतीय जस्तै भएका थियौं, किनमेलदेखि सम्बन्ध सबै भारततिरै थियो,’ दोधारा चाँदनी–७ कञ्जभोजका मनवीरसिंह ठकुरीले भने, ‘तर अब हामी पनि नेपाली हौं भन्ने अनुभूति हुन थालेको छ ।’ ५६ वर्षीय ठकुरी १० वर्षको उमेरमा रोल्पाबाट भारतीय बाटो हुँदै कञ्जभोजमा पुगेका थिए । जोगबुडा नदीमा हिउँदमा समेत पानीको मात्रा बढी नै हुन्छ ।
बर्खामा त तर्नै सकिँदैन । एक दशकअघि झोलुंगे पुल निर्माण भएपछि आउजाउमा केही सहज भए पनि त्यसअघि भने निकै समस्या थियो । ठकुरीका अनुसार झोलुंगे पुल निर्माण हुनुअघिसम्म जोगबुडामा किस्ती (डुंगा) चल्थ्यो । किस्ती राति ८ बजेसम्म मात्रै चल्थ्यो । त्यसपछि पुग्नेले नदी किनारमै रात बिताउनुपर्थ्यो । कैयौं दिन ८ बजेपछि नदी किनारमा पुगेका ठकुरीलाई ज्यान जोखिममा हालेर पौडी खेलेर नदी तरेको सम्झना अहिले पनि ताजै छ । ‘त्यति बेलाका दुःख सम्झेपछि अहिले त निकै खुसी छौं,’ ठकुरी भन्छन्, ‘झोलुंगे पुल निर्माणले केही सहजता ल्याएको थियो, अहिले झनै सजिलो भएको छ ।’ कञ्जभोज २०२२ देखिको बस्ती हो । यहाँ साढे ५ सय बढी परिवारको बसोबास छ । १७१ मिटर लम्बाइको उक्त पुल ६ महिनाअघि निर्माण भएको हो । पुल निर्माणका क्रममा पनि शारदा नहरको पानी भारतीय पक्षले यही नदीमा छाड्ने गरेका कारण निकै समस्या आउने गरेको थियो । हिउँदमा समेत नदीमा पानीको बहाव बढी हुने गरेका कारण निर्माण कम्पनीले पटकपटक म्याद थप गरेको थियो ।
( कान्तिपुर दैनिक )
