
सर्लाही — ०२ फागुन २०७८
सर्लाही , सर्लाहीको वाग्मतीस्थित घरमा सुतिरहेको अवस्थामा एक वृद्धको आगोले जलेर मृत्यु भएको छ । वाग्मती नगरपालिका–८ शंकरपुरको सोल्टीस्थित राम अशिष साहको घरको आँगनमा सोमबार बिहानै २ बजेतिर आगो लाग्दा ज्यान गएको हो । ६६ वर्षीय साह घरको आँगनमा जलिरहेको देख्नासाथ तत्कालै छिमेकीहरूले पानी हालेर आगो निभाउँदा उनको मृत्यु भइसकेको थियो ।
स्थानीय राम प्रवेश पण्डितले साहको आँगनमा अचानक आगो लागेको देखेर हतार हतार पानी हालेर निभाएको बताए । आइतबार राति घरमा सुतेका साह कसरी आगलागीमा परे भन्नेबारे खुल्न सकेको छैन । उनी दुई वर्षयता अशक्त भएका घरमै बसिरहेका हुन्थे । पक्षघात भएर बिरामी परेका साहको शरीरको एक भागले काम गरिरहेको थिएन । स्थानीय घनश्याम बलमपाकीका अनुसार साह एक ठाउँमा लडेपछि आफैं उठ्न सक्दैनथे । साहका दुई छोरा छन् । उनीहरू बरहथवास्थित चिरान मिलमा काम गर्ने भएकाले राति त्यतै बसेका थिए ।
बुहारीसहित अन्य सदस्य घरमै सुते पनि छिमेकीले चिच्याएपछि मात्र उनीहरू ब्युँझिएका थिए । घटनास्थल पुगेका प्रहरीले भने जलेर मृत्यु भएको घटनामा अनुसन्धान भइरहेको जनाएको छ । सर्लाहीमा यसअघि आगोले जलेर चार जनाको मृत्यु भइसकेको छ । मलंगवा नगरपालिकाको खुटौनामा एकजना र कविलासी नगरपालिकाको सिर्सियामा दुई बालिका र गोडैतामा एक वृद्धाको आगोले जलेर मृत्यु भएको थियो ।
( कान्तिपुर दैनिक )
