
कास्की — ०२ फागुन २०७८
कास्की , गण्डकी सरकारले आइतबारदेखि लागू हुने गरी सार्वजनिक सवारीको नयाँ भाडादर तोकेको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले बिहीबार राजपत्रमा भाडाको दररेट सार्वजनिक गरेको थियो । राजपत्रमा उल्लेख भएअनुसार जिप, ट्याक्सी, नगर बस, ठूला बस र ट्रकको भाडा निर्धारण गरेको यातायात व्यवस्थामन्त्री कुमार खड्काले बताए । मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठको संयोजकत्वमा गत असोज १३ मा भाडा निर्धारण समिति गठन भएको थियो । त्यस समितिले यातायात व्यवस्था कार्यालयका प्रमुख संयोजक रहने गरी भाडा निर्धारणका लागि अध्ययन उपसमिति बनाएको थियो । समितिले पुस १२ मा व्यवसायी, उपभोक्तालगायतसँग छलफल गरी बुझाएको प्रतिवेदनका अनुसार भाडादर कायम गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांकअनुसार गण्डकीमा २ हजार २ सय ४६ वटा ट्याक्सी दर्ता छन् । नयाँ भाडा लागू गर्न यातायात सम्बद्ध संघसंस्थाले लिखित प्रतिबद्धता जनाएका छन् । ट्याक्सीका लागि छत हुनुपर्ने, चालकले सर्ट पाइन्ट लगाउनुपर्ने नियम पनि बनाइएको छ । मन्त्री खड्काले नयाँ नियम कार्यान्वयन नगर्ने साधनलाई कारबाही गरिने बताए । गुणस्तर तथा नापतौल कार्यालय कास्कीले ट्याक्सीको मिटर फेरबदल गर्न लागेको छ । ट्याक्सी सञ्चालक प्रकाश तिवारीले सरकारले बनाएको नियम कार्यान्वयनमा लैजानुपर्ने बताए । युवा व्यवसायी विष्णुप्रसाद पौडेल शर्माले ट्याक्सीलगायत अन्य सवारीमा तोकिएको भाडाले जनतालाई राहत मिल्ने बताए ।
( कान्तिपुर दैनिक )
