
काठमाडौँ — ०२ फागुन २०७८
काठमाडौँ , कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु भएको छ । प्रजातन्त्र दिवस–२०७८ का अवसरमा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु गरिएको हो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार उपकुलपति जगमान गुरुङ, सदस्य सचिव जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य दिनेशराज पन्त, योगेन्द्रप्रसाद लगायतको सहभागितामा पुस्तक प्रदर्शनीको उद्घाटन गरे । कुलपति उप्रेतीले राष्ट्रिय एकता दिवसका अवसर पारेर आयोजना गरिएको पुस्तक प्रदर्शनी कोभिड महामारीका कारण स्थगित गरिएको भएपनि प्रजातन्त्र दिवसका अवसर पारेर पुन: प्रदर्शनी आयोजना गरिएको बताए । उनले भने, ‘प्रज्ञा प्रतिष्ठानले अबदेखि वर्षभरि नै पुस्तक प्रदर्शनी गर्ने योजना बनाइरहेको छ । उपयुक्त स्थानको व्यवस्था गरेर हामी उक्त योजनालाई चाँडै मूर्त रूप दिने तयारी गरिरहेका छौँ ।’
उनका अनुसार पाठकहरूको मागलाई आत्मसात गरेर पुस्तक प्रदर्शनीको आयोजना गरिएको हो । यसबाट आमपाठकले पर्याप्त लाभ लिन सक्ने उनको विश्वास छ । प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानसहित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न विधाका महत्त्वपूर्ण पुस्तकहरू उपलब्ध छन् । प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । पुस्तक प्रदर्शनी १५ दिनसम्म चल्नेछ ।
( कान्तिपुर दैनिक )
