
भक्तपुर — ०१ फागुन २०७८
भक्तपुर , काउली, बन्दा, फर्सी, काँक्रोलगायत मौसमअनुसारका तरकारी लगाउने भक्तपुर सिपाडोलस्थित विविचा गाउँका दशराम र सरिता ख्याजु दम्पतीले कुरिलो खेती पनि गर्छन् । यो दम्पतीले २ रोपनी जग्गाबाट कुरिलो खेती गर्न थालेको पनि २ दशकभन्दा बढी भइसकेको छ । पहिले प्रतिकिलो ६० देखि ३ सय रुपैयाँमा बेच्दै आएको कुरिलोको मूल्य अहिले खेतमै प्रतिकिलो २ सय ५० देखि १२ सय रुपैयाँसम्म पर्छ । बजार विस्तार भइरहेकाले क्रमशः क्षेत्रफल बढाउँदै लगेका उनीहरूले अहिले २० रोपनी जग्गामा कुरिलो खेती गरिरहेका छन् । हेटौंडामा पनि खेती विस्तार गर्ने उनीहरूको सोच छ । ‘पहिला पाउको मुठा बान्थ्यौं, त्यही ५ वटा मुठाको किलो बनाउँथ्यौं, अहिले एक/दुई किलोको मुठा बनाउँछौं,’ सरिताले भनिन् । कुरिलो उत्पादन गर्ने मात्र होइन, दशराम उत्पादित फसल आफैं कालीमाटी तरकारी तथा फलफूल बजारमा लगेर बेच्छन् पनि । आफैंले तरकारी बेच्न जानुको पनि कारण छ । पहिले दशराम खेतीपाती गर्थे भने सरिता श्रीमान्लाई सघाउनेसँगै हिसाबकिताब सम्हाल्थिन् । खेतमै आएर फसल उठाउने व्यापारीले उचित मूल्य नदिएपछि उनीहरू बजारको खोजीमा लागे ।
२०७३ मा सरिताले डोलेश्वर मेलामा बाल्टिनमा कुरिलो राखेर बेचिन् । आफैंले बेच्दा राम्रो मूल्य पाएपछि चाबहिल तरकारी बजारमा पनि पुर्याए । त्यसयता दशरामले आफूसहित ७ जना किसानले उत्पादन गरेको तरकारीलाई कालीमाटी पुर्याउन थालेका हुन् । ‘आफैंले फसल बजार पुर्याउँदा कुरिलोमा मात्रै सिजनमा कम्तीमा ५ लाख रुपैयाँ बचत हुने रैछ, व्यापारीलाई दिनुभन्दा आफै बेच्ने हो,’ दशरामले भने । तरकारी उत्पादन गर्ने किसानले मिहिनेतअनुसारको मूल्य नपाउने तर त्यही तरकारी बजारसम्म पुग्दा धेरै महँगो हुने गरेको उनको अनुभव छ । ‘पहिला कुरिलोमा किलोकै ५०/१०० रुपैयाँ राख्ने रैछ, यता किसान सस्तोमा, उता ग्राहक महँगोमा किन्न बाध्य,’ दशरामले भने, ‘आजभोलि पनि महँगो हुँदा एक हजारमा उठाउँछन्, २ हजारमा बेच्छन् ।’ अहिले उनीहरूको खेतमा कुरिलोका ३–५ वर्ष पुराना बिरुवा छन् । यो वर्ष नयाँ बिरुवा पनि रोपिसकेका छन् । फागुनदेखि झार गोड्ने, मल हाल्ने, खनजोत गर्ने काम सुरु भएपछि उनीहरू त्यसमै व्यस्त हुन्छन् । ‘असार र साउनमा दिनकै टिप्नुपर्छ, नत्र बिरुवा हुर्किन्छ । जेठ र भदौमा दिन बिराएर टिप्नुपर्छ,’ दशरामले भने, ‘पहिला रोपनीमा २५ किलोसम्म उत्पादन हुन्थ्यो । अहिले १० किलो मात्र आउँछ ।’
कुरिलो खेती गर्दा धेरै वर्षसम्म जग्गा ओगट्ने र मूल्य पनि कमै पाउने भएकाले केही वर्षअघिसम्म थोरै किसानले मात्र यो खेती गर्थे । पछिल्लो समय विविचा गाउँका धेरै किसान कुरिलो खेतीतर्फ आकर्षित भएका छन् । सुरुमा कुरिलोबाट आम्दानी प्रशस्त नहुँदा किसानहरू जग्गा भाडामा लिएर खेती गर्न डराउँथे । अहिले विविचा गाउँका ८० प्रतिशतभन्दा बढी किसानले कुरिलो खेती गर्छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जारी गरेको नेपाली कृषिसम्बन्धी तथ्यांकीय जानकारी २०७६ अनुसार देशभर १ सय ६२ हेक्टर क्षेत्रफलमा कुरिलो खेती गरिन्छ । जसमा बर्सेनि १ हजार १ सय ५२ टन कुरिलो उत्पादन हुने गर्छ । सात प्रदेशमध्ये वाग्मतीमा सबैभन्दा बढी ८ सय ४१ टन उत्पादन हुन्छ भने मधेस र सुदूरपश्चिम प्रदेशमा हालसम्म उत्पादन भएको छैन ।
( कान्तिपुर दैनिक )
