
पाल्पा — ०१ फागुन २०७८
पाल्पा , स्याङ्जाको आँधीखोला–३ का जीवनाथ चापागाईं शनिबार बिहान सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा तीन घण्टा जाममा फसे । भैरहवामा १० बजे नपुगी नहुने उनको काम थियो । गाडी रिजर्भ गरेर हिँडेका उनलाई घण्टौंको जामले हैरानी भयो । ‘सामान्य ट्राफिक व्यवस्थापन हुन नसक्दा हामीले सास्ती बेहोर्नुपरेको छ,’ उनले भने, ‘यस्ता विषय प्रहरी, प्रशासन, स्थानीय तह कसैलाई मतलब नहुने रहेछ ।’ गुल्मीको चन्द्रकोटका केशव खत्री शुक्रबार आफन्तको बिहेमा नवलपरासी हिँडेका थिए । सिद्धबाबा क्षेत्रमा दुई घण्टा बढी जाममा फसे । उनलाई हतार भएर के गर्नु ? सवारी अघि नै बढ्दैन । ट्रक, टिपर, साना सवारीसाधनको बीचमा फसेका थिए । ‘गाडीबाट बाहिर निस्केर हिँड्न पनि धेरै नै छ,’ तिनाउ–३ नागमन्दिर नजिक फसेका उनले भने, ‘हिँड्न खोज्यो गाडी चल्छ कि भन्ने लाग्छ तर यो सास्तीका विषयमा कसैले केही गर्दो रहेनछ ।’
दोभानको पैठेडाँडा, नागमन्दिर, सिद्धबाबा क्षेत्रमा नाली निर्माण, सडकमा आरसीसीलगायतका काम भइरहेको छ । झुम्सा, पानी मिललगायतमा पनि टेवा, पर्खाल निर्माणको काम भइरहेको छ । ‘जतासुकै जथाभावी निर्माण सामग्री फालिएको छ,’ कारचालक कृष्ण छन्त्यालले भने, ‘यही कारण पनि घण्टौं जाममा फस्नुपरेको छ ।’ अढाईदेखि तीन घण्टामा तानसेनबाट बुटवल पुगेर फर्किन सक्थे । तर जाममा फस्दा ५ देखि ७ घण्टासम्म लाग्ने गरेको उनले बताए । सवारी दोहोरो गुड्ने सडकमा एकतर्फी चलेको महिनौं भइसक्यो । जतासुकै नाली निर्माण, मर्मत, खन्ने काम भएको र त्यसमा पनि ढिलाइ गर्दा समस्या आउने जिपचालक लीलबहादुर थापाले बताए । झुम्साको पहिरो क्षेत्रमा चार महिनादेखि बनिरहेको सय मिटर सडकको निर्माण सकिएको छैन । माटो, ढुंगा बिक्री गर्ने र त्यसको व्यवस्थापन गर्दा नै निर्माणव्यवसायीले काममा ढिलाइ गरेको स्थानीयले बताए ।
‘ढुंगा छुट्याएर राख्ने र बिक्री गर्ने गरेको छ,’ स्थानीय कमल हमालले भने, ‘अनि कसरी समयमा काम सकियोस् ।’ निर्माण व्यवसायीले अघिल्लो आर्थिक वर्षमै काम सक्नुपर्ने गरी ठेक्का लिएका हुन् । तैपनि अटेर गरेको देखिएको छ । कार्यालयका प्रमुख, इन्जिनियर फेरबदल भएपछि झन् अटेरी गर्दै आएको हो । दोभान प्रहरी चौकीका असई कुलबहादुर श्रेष्ठले निर्माण व्यवसायीले अटेर गर्दा काममा ढिलाइ भएको बताए । ‘हामीले निर्माण सामग्री मिलाएर दोहोरो गाडी चल्न सक्नेगरी राख्न भन्ने गरेका छौं,’ उनले भने । सडक डिभिजनका इन्जिनियर रवि शाहले निर्माण व्यवसायीलाई सडकमा अवरोध नगर्न पत्र नै दिएको बताए । ‘नाली निर्माणमा एक मिटरबाहेक अवरोध नगर्न भन्ने गरेका छौं,’ उनले भने, ‘आधा सडकमै राखिदिन्छन् । अनि घण्टौं जामको समस्या हुन्छ ।’ सवारीसाधनको चाप अधिक छ । दैनिक सयौं टिपर, मालवाहक ट्रक, यात्रुवाहक बस, साना सवारी साधन गुड्छन् । पाल्पाबाहेक गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, पर्वत, कास्की, म्याग्दी, मुस्ताङसम्मका सवारीसाधन सिद्धार्थ राजमार्ग भएर गुड्छन् ।
राजमार्गमा करिब चार किलोमिटर जाम पर्छ । ठूला सवारीका कारण झन् समस्या छ । सिद्धार्थ राजमार्ग मात्र होइन, तानसेन–गुल्मी सडकको अवस्था पनि उस्तै छ । निर्माण व्यवसायीले समयमा काम पुरा नगरेपछि सडक डिभिजन पाल्पाले पाल्पा–गुल्मी सडक खण्ड शुक्रबारदेखि १५ दिनसम्म रातीको समयमा बन्द गरेर कटानको काम गराउन थालेको छ । जोर्ते क्षेत्रमा चार महिनादेखि २ सय मिटर भीर कटान गरेको छैन । अघिल्लो वर्ष लगाएको ठेक्काको काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई पाल्पा–गुल्मी सडक चौडा गर्ने कामका लागि दैनिक बेलुकी साढे ९ देखि बिहान साढे ३ बजेसम्मका लागि सडक बन्द गरेर काम गराइएको सडक डिभिजनले जनाएको छ । प्रदीप साइन जेभी बुटवलले काम समयमा सम्पन्न गरेको छैन । जिल्ला सुरक्षा समितिसँगको बैठकबाट काम गराउन जोड दिने निर्णय भएको सडक डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए ।
( कान्तिपुर दैनिक )
