
राजविराज — ०१ फागुन २०७८
राजविराज , रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास ७ महिनाअघि भए पनि हालसम्म काम अघि बढ्न सकेको छैन । बजेट नपाउँदा निर्माण अघि बढाउन नसकिएको प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिले जनाएको हो । प्रतिष्ठानको निर्माणस्थलमा बोर्ड राख्नेबाहेक अरू काम भएको छैन । चालु आर्थिक वर्षमा सरकारले प्रतिष्ठानका लागि १० करोड रुपैयाँ बजेट छुट्याएको छ । संघीय सरकारले सप्तरीको राजविराजमा प्रतिष्ठान बनाउने निर्णय गरेको थियो । राजविराज–१० विरौलमा नगरले ६२ बिघा जग्गा दिने निर्णय गरेको हो । सोही निर्णयअनुसार गत असार २२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भर्चुअल शिलान्यास गरेका थिए ।
०७५ पुसमा सरकारले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि तत्कालीन प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेशसभामा समेत प्रतिष्ठान निर्माण बारे प्रतिबद्धता दोहोर्याएका थिए । सरकारको निर्णयलगत्तै राजविराज नगरपालिकाले वडा १० विरौलमा प्रतिष्ठान निर्माणका लागि ६२ बिघा जग्गा दिने निर्णय गरेको थियो । तर उक्त जग्गा प्रतिष्ठानका नाममा ३ वर्षपछि मात्र कायम भएको थियो । नगरपालिकाले ०७५ सालमै जग्गा दिने निर्णय गरेको भए पनि संघीय सरकारले ३ वर्षपछि मात्र उक्त जग्गा प्रतिष्ठानको नाममा ३० वर्षसम्म लिजमा दिने निर्णय गरेको थियो ।
सरकारी निर्णयपछि शिलान्यास भए पनि अहिले प्रतिष्ठान निर्माणस्थल गौचरणमा सीमित भएको छ । सरकारले छुट्याएको बजेट समयमै नआउँदा काममा ढिलाइ भएको प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका निर्देशक डा. रन्जित झाले बताए । उनका अनुसार डीपीआर निर्माण पूर्ववातावरणीय प्रभाव मूल्यांकनलगायत विषयमा काम अगाडि बढाउन समिति तयारी अवस्थामा रहे पनि बजेट नहुँदा काम अघि बढ्न सकेको छैन । ‘केही दिनअघि रकम आएको छ, घेराबेराको विषयमा टेन्डर भइसकेको छ,’ झाले भने, ‘टेन्डरको समयावधि सकिन दुई/चार दिन बाँकी छ ।’ कुल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम पाँच वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।
( कान्तिपुर दैनिक )
