
राजविराज — ०१ फागुन २०७८
राजविराज , लागूऔषधसहित पक्राउ गरिएका एक जनालाई प्रहरी कार्यालय ल्याउन शनिबार साँझ प्रहरीलाई चार घण्टा लागेको छ । शनिबार साँझ विशेष सूचनाका आधारमा प्रहरीले सप्तरीको राजगढ गाउपालिका १ झुट्कीका २४ वर्षीय शिवशंकर यादवलाई लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार पक्राउ गरिएका यादवको घरको पूर्वतिर रहेको शौचालयको छेउमा कालो प्लास्टिकको झोलामा फेनारगन ९७ एम्पुल, डाइजेपाम ९९ एम्पुल फेला परेको थियो । उक्त परिमाणमा लागूऔषध बरामद भएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याउन खोज्दा स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए । डीएसपी काफ्लेका अनुसार स्थानीयहरूले अवरोध गरेपछि सम्झाइबुझाइ पक्राउ गरिएकालाई ल्याउन चार घण्टा लागेको थियो ।
स्थानीयहरूले बरामद सामग्री लागूऔषध नभएको दाबीसहित पक्राउ गरिएकालाई लैजान नदिने भन्दै प्रहरीको बाटो छेकेका थिए । स्थानीयले प्रहरीको बाटो छेकेपछि शनिबार साँझ ६ बजेदेखि राती १० बजेसम्म सप्तरीको झुट्की क्षेत्रको अवस्था तनावपूर्ण बनेको थियो । शनिबार साँझ ६ बजे पक्राउ गरिएका यादवलाई स्थानीयले ३ घण्टासम्म लैजान नदिएपछि उक्त स्थानमा नेपाल प्रहरीको थप बल पठाइएको थियो भने सशस्त्र प्रहरी बलसमेत परिचालन गरिएको थियो । डीएसपी काफ्लेका अनुसार राती १० बजेमात्र यादवलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो । उनलाई पक्रेर ल्याउन अवरोध उत्पन्न गरेपछि सयको हाराहारीमा प्रहरी परिचालन गरिएको थियो । पक्राउ गरिएका शिवशंकर अहिले जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा छ । उनीमाथी थप अनुसन्धान भइरहेको डीएसपी काफ्लेले जनाए ।
( कान्तिपुर दैनिक )
