
धनगढी — ०१ फागुन २०७८
धनगढी , कैलालीको अत्तरिया र धनगढीको बीचमा पर्ने गेटामा निर्मित आकर्षक तथा अत्याधुनिक भवनहरूले यतिबेला सबैको ध्यान खिच्ने गरेको छ । तर, सरकारले आवश्यक कानुनी निर्णय नगर्दा गेटा मेडिकल कलेज सञ्चालनका लागि झन्डै ५ अर्ब लागतमा तयार ती भवनहरू बिग्रेर जाने जोखिम बढ्दै गएको छ । मेडिकल कलेज कुन मोडलमा सञ्चालन गर्ने भन्नेबारे सरकारले हालसम्म कानुनी निर्क्योल नगर्दा तीन वर्षदेखिको अन्योल कायमै छ । ‘बनेका संरचनाहरू गोठ बन्ने खतरा छ,’ मुख्यमन्त्री त्रिलोचन भट्टले भने, ‘कुन मोडेलमा सञ्चालन गर्ने हो तत्काल आवश्यक कानुनी प्रबन्ध गरेर मेडिकल कलेज चाँडो सञ्चालन हुनुपर्छ भन्दै आएको धेरै भइसक्यो । तर कसैले सुन्दैनन् । संघ र प्रदेश सरकारको साझेदारीमै सञ्चालन गर्ने भए पनि हामी त तयारै छौं ।’ मेडिकल कलेज पूर्वाधार विकास समिति गेटा कैलालीका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार यसअघि एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान विधेयक तीन वर्षदेखि मन्त्रिपरिषद्मा थन्किएको छ । प्रस्तावित विधेयकअनुसार गेटा, बुटवल, बर्दिबास र सुर्खेतमा स्थापना हुने मेडिकल कलेजलाई लक्षित गरी एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवधारणा लिएको पुजाराले बताए ।
‘सरकार फेरिएपछि अघि नबढेका फाइलहरू सम्बन्धित मन्त्रालयमै फिर्ता गर्ने परम्परा रहेछ । अहिलेको सरकार आएपछि उक्त फाइल पनि शिक्षा मन्त्रालयमै फिर्ता पठाइएको रहेछ,’ निर्देशक पुजाराले भने, ‘शिक्षा मन्त्रालयले अहिले फेरि जस्ताको तस्तै सो प्रस्तावित विधेयक क्याबिनेटमा पठाएको भन्ने सुनेका छौं ।’ यता, थन्किएकै उक्त प्रस्तावित विधेयकको खाकामै पनि यस क्षेत्रका बासिन्दा सहमत छैनन् । धेरै प्रतिष्ठान बनाउनुभन्दा छाता संरचना बनाएर गेटा मेडिकललाई पनि सोही एकीकृत प्रतिष्ठानभित्र समेट्ने योजना बनाइएको छ । त्यस प्रावधानअनुसार गेटा मेडिकल कलेज आंगिक निकायका रूपमा रहने अवस्था छ । ‘सुदूरपश्चिमका बासिन्दाहरू गेटालाई मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग गरिरहेका छौं, सकभर विश्वविद्यालय बनाउनु नै उपयुक्त हो, नभए कम्तीमा यसलाई अलग्गै प्रतिष्ठान त बनाउनुपर्ने हो,’ कार्यकारी निर्देशक पुजाराले भने, ‘मैले आफ्नो तहबाट त प्रयत्न गरिरहेकै छु । तर राजनीतिक नेतृत्वको पहलमा धेरै कुरा निर्भर हुन्छ ।’
धनगढीका नागरिक अगुवा खडकराज जोशीले मेडिकल युनिभर्सिटी बन्नुपर्छ भन्ने हाम्रो माग रहेको बताए । ‘सरकारले गेटालाई महत्त्व दिएर कानुनी निर्क्योल गर्नु जरुरी छ,’ जोशीले भने, ‘सुदूरपश्चिमका बासिन्दाहरूको भावना र राष्ट्रिय आवश्यकतालाई ध्यान दिएर यथासक्य चाँडो काम गर्नुपर्छ ।’ तत्कालीन सेती अञ्चल अस्पतालका पूर्वप्रमुख डा. गणेशबहादुर सिंहले गेटालाई मेडिकल युनिभर्सिटी नै बनाउनुपर्नेमा जोड दिए । त्यसका लागि राजनीतिक प्रतिबद्धता अत्यावश्यक रहेको उनको भनाइ छ । मेडिकल कलेज सञ्चालनमा आउन सके २७ वर्षअघि सुरु भएको सुदूरपश्चिमवासीको मेडिकल कलेजको सपना पूरा हुने यहाँका बासिन्दाको भनाइ छ । प्राध्यापक डा. हेमराज पन्त भन्छन्, ‘गेटा मेडिकल कलेजले यो प्रदेशका बासिन्दाहरूको गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउने मात्रै हैन, यहाँको आर्थिक गतिविधिसमेत बढाउनेछ ।’
( कान्तिपुर दैनिक )
