
लुम्बिनी — ०१ फागुन २०७८
लुम्बिनी , रूपन्देहीका विद्यालयमा भौतिक उपस्थितिमा नै पढाइ सुरु भएको छ । विद्यार्थीलाई खोप लगाएपछि विद्यालय सञ्चालन गर्न थालिएको हो । सैनामैना नगरपालिकाका ३५ वटै विद्यालय सञ्चालन भएका छन् । विद्यालयहरू सुरक्षित रूपमै चलेकाले पढाइ नरोकिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमराज अर्यालले बताए । ‘सिफ्ट र स्वास्थ्य मापदण्डबिना चलेका छैनन्,’ उनले भने, ‘अभिभावक राजी भएको र विद्यार्थी सन्तुष्ट भएकाले पढाइ नरोकिएको हो ।’ अर्यालले नगरभरिका विद्यालयमा पढाइ भइरहेकाले अन्य बेलाजस्तै विद्यार्थी विद्यालय जाने गरेको बताए । बुटवलस्थित न्यु होराइजन माविले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीको भौतिक उपस्थितीमै कक्षा सञ्चालन थालेको छ ।
विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले अन्य कक्षा अनलाइनमै चले पनि कक्षा ८ देखिमाथिका विद्यार्थीलाई विद्यालयमै बोलाएर पढाउन थालेको बताए । ‘हामीले साताको दुई दिन यी कक्षाका विद्यार्थीलाई गृहकार्य लिन बोलाउने गरेका थियौं,’ उनले भने, ‘अभिभावकले हामी भएभरका विवाहमा जान्छौं, विद्यालय बन्द गरेर जोगिने देखिएन, चलाउनूस् भनेकाले खोलेका हौं ।’ विद्यालयको बस पठाउन सबै विद्यार्थी नआउने भएकाले आफैं आउन भनेकामा पुनः अभिभावककै करले बुधबारदेखि बस नै पठाउन थालेको उनले बताए । वार्षिक परीक्षाको सूचना आइसकेकाले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नसकिने भन्दै उपाध्यायले विवाहका भोज र सार्वजनिक स्थानमा डुल्ने विद्यार्थीलाई पढ्न बोलाएर गल्ती नगरिएको जनाए ।
बुटवलकै एभरेस्ट माविका ८ कक्षामाथिका विद्यार्थीलाई गृहकार्य लिन विद्यालयमा उपस्थित गराउने गरिएको प्रधानाध्यापक कृष्ण न्यौपानेले बताए । उनले अनलाइन कक्षामा विद्यार्थीले नबुझेका विषय विद्यालयमा आई सोध्न पाउने र आफूहरूले पूरा गर्नुपर्ने गृहकार्यबारे जानकारी लिन पनि आउने सुविधा दिइएको जनाए । आइतबारदेखि सबै कक्षा सञ्चालन गर्ने गरी विद्यालयले तयारी गरिरहेको उनले बताए । यसैगरी तिलोत्तमा र देवदह नगरपालिकाका साथै यहाँका विभिन्न गाउँपालिकाका विद्यालयसमेत भौतिक उपस्थितिमै सञ्चालन हुन थालेका छन् । केन्द्रीय शिक्षा मन्त्रालयबाट अर्को निर्णय नआउँदासम्मका लागि विद्यालय भौतिक उपस्थितिमा सञ्चालन नगर्न भनिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दीपेन्द्र ढकालले बताए ।
( कान्तिपुर दैनिक )
