
काठमाडौँ — २८ माघ २०७८
काठमाडौँ , स्थानीय तहको निर्वाचनअघि नै कक्षा १–१० को शैक्षिकसत्र अन्त्य गरी परीक्षासमेत सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको छ । कोभिड संक्रमणका कारण शैक्षिकसत्रको सुरुमा र अहिले पनि पठनपाठन प्रभावित बनिरहेको छ । चुनावका कारण पठनपाठन अझ प्रभावित हुन सक्ने भएकाले बोर्डले त्यसअघि नै परीक्षा सकेर नयाँ शैक्षिकसत्रको तयारी गर्न लागेको हो । बोर्डले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरूसँग परीक्षा सञ्चालनका विषयमा छलफल गरेको थियो । प्रमुखहरूले ७० प्रतिशत पाठ्यक्रम पूरा भएकाले फागुन र चैत महिनाभर कक्षा सञ्चालन हुन सके वैशाखमा परीक्षा गर्न सकिने राय दिएका थिए । ‘पहिले चैतको पहिलो साता परीक्षा हुन्थ्यो, यसपालि पढाइमा असर पुगेर चैत महिनाभर पठनपाठन गराउने र वैशाखमा परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ,’ बोर्ड अध्यक्ष महाश्रम शर्माले भने, ‘चुनावअघि परीक्षा सकिन्छ ।’ ३० प्रतिशत मात्रै पाठ्यक्रम बाँकी रहेकाले दुई महिना कक्षा सञ्चालन हुन पाए परीक्षा लिन सकिने उनको भनाइ छ ।
( कान्तिपुर दैनिक )
