Fast Nepal News

प्रधानसेनापतिले गरे होल्डिङ सेन्टरको निरीक्षण

banner single news

कञ्चनपुर —  २८  माघ २०७८

कञ्चनपुर , प्रधानसेनापति प्रभुराम शर्माले महेन्द्रनगरमा निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । बिहीबार साँझ दार्चुलाबाट महेन्द्रनगर पुगेका शर्माले शुक्रबार बिहान सेनाको श्री नं. २५ बाहिनी नजिकै निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन् । होल्डिङ सेन्टर निर्माणको काम मापदण्ड अनुसार समयमै सक्न उनले निर्माण कम्पनीलाई सचेत समेत पारेका छन् । उनले ठेक्का सम्झौतामा उल्लेख भएकै मालासामानको प्रयोग हुनुपर्ने र अब तत्काल काम सक्नुपर्ने भन्दै निर्माण कम्पनीका प्रतिनिधिलाई सचेत पारे । ‘जस्तो बेड भनेको छ, त्यस्तै हुनुपर्छ, अरु भएमा मान्य हुँदैन,’ निरीक्षणका क्रममा शर्माले भने, ‘खानेपानीदेखि शौचालयसम्म सबैको ठिक ढंगले निर्माण हुनुपर्छ, मालासमानहरु एकनासका प्रयोग गर्नुपर्छ ।’

उनले फरक खालका सामानहरु प्रयोग गर्दा आर्थिक रुपमा प्रश्न उठन सक्ने बताए । होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्सट्रक्सनका प्रमुख गोकर्ण न्यौपानेले तोकिएको समयमै काम सम्पन्न हुने र मापदण्डभन्दा बाहिरको सामान प्रयोग नहुने प्रतिबद्धता जनाए । सरकारले नेपाली सेना मातहत देशका विभिन्न ठाउँमा होल्डिङ सेन्टर निर्माण गर्न थालेको हो । महेन्द्रनगरको सालघारी क्षेत्रमा १ हजार बेड क्षमताका २० वटा ठूला बेडसहितका संरचना, ५० बेड क्षमताका दुई संरचना स्वास्थ्यकर्मीका लागि र २२ वटा शौचालय र १५ भान्सा लगायतका संरचना निर्माण भइरहेका छन् ।

Inside Article Ads

उक्त निर्माणका लागि २९ करोड २५ लाखमा ठेक्का सम्झौता भएको हो । ‘संचरना लगभग निर्माण भइसकेका छन्, अब व्यवस्थापनको काम भइरहेको छ,’ निर्माण कम्पनीका प्रतिनिधि लक्षमण सापकोटाले भने, ‘७ सय बेड तयार भइसके ।’ उनले फागुन १५ सम्म काम सक्ने समयावधि भएपनि मौसमले साथ दिए फागुनभित्रै सक्ने लक्ष्य रहेको उनले बताए । प्रधानसेनापति शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरण शर्मा, प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेय लगायतले होल्डिङ सेन्टरको निरीक्षण सँगै आवश्यक जानकारी लिएका थिए ।

( कान्तिपुर दैनिक )

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.