Fast Nepal News

‘अपहरण’ को १३ घण्टापछि उद्धार

banner single news

धनुषा —  २८  माघ २०७८

धनुषा , जनकपुर उपमहानगरपालिका–६ महाराज सागर बस्ने ६ वर्षीया एलिजा खातुन बुधबार साँझ सातमहिने भाइ मोहम्मद अख्तरलाई काखमा राखेर खेलाउँदै थिइन् । भाइसँगै रमाइरहेकी एलिजालाई एक अपरिचित महिला आएर ‘कुरकुरे’ किनिदिने प्रलोभन देखाइन् । ५० रुपैयाँ पनि दिइन् । रकम पाएपछि भाइलाई उनै महिलाको जिम्मा लगाएर एलिजा नजिकैको पसलतिर दौडिन् । एउटा हातमा कुरकुरेको प्याकेट र अर्को हातमा फिर्ता भएको रकम लिएर पोखरीको डिलनेर आइपुग्दा न भाइ देखिए, न ती महिला नै । केहीबेर यताउता भाइको खोजबिन गरिन् । केही पत्ता नलागेपछि उनी रुँदै घरतिर दौडिन् । घरमा हजुरबुबा र काकालाई भनिन्, ‘म कुरकुरे किन्न पसल जाँदा भाइ त हरायो । कहीँ भेटिएन ।’ सबै मिलेर खोज्दा बच्चा नभेटिएपछि उनीहरू प्रहरीकहाँ पुगे । जिल्ला प्रहरी कार्यालय धनुषाले बालक हराएको करिब १३ घण्टापछि उनको ‘अपहरण’ मा संलग्न ती महिलासहित ३ जनालाई पक्राउ गरेको छ ।

ति महिलाको साथमा २ वर्षकी बालिका पनि थिइन् । तर, मोहम्मदलाई आफूले लिएपछि उनले ती बालिकालाई आफ्नै गिरोहकी अर्की महिलाको जिम्मा लगाइसकेकी थिइन् । ‘छोरा नहुँदा बच्चा चोरी गरेको मनीषाले बयान दिएकी छन् । तर उनको बयानमा तर्क देखिन्न,’ धनुषा प्रहरीका एसपी वसन्त रजौरेले भने, ‘उनीहरू बालबालिका चोरी गर्ने पेसेवर गिरोहका सदस्य नै हुन् ।’ सातमहिने मोहम्मदलाई अपहरण गर्ने गणेशमान चारनाथ नगरपालिका–१० की ३५ वर्षीया मनीषादेवी मुखिया र उनलाई सहयोग गर्ने औरही गाउँपालिका–१ पौडेश्वरकी २० वर्षीया किरण राम र महोत्तरी लोहारपट्टी–४ का २२ वर्षीय कृष्णकुमार यादवलाई पक्राउ गरिएको एसपी रजौरेले बिहीबार साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनका अनुसार सातमहिने बालक अपहरण गर्ने मनीषाकी २ वर्षीया छोरी नन्दनी मुखियालाई घटनास्थलबाट किरणले लगेको र कृष्णले १३ हजार रुपैयाँ आर्थिक सहयोग गरी मनीषालाई अपहरण गर्न उक्साएको बयान दिएका छन् ।

Inside Article Ads

‘आर्थिक सहयोग गरेर कृष्णले मनीषालाई बालक अपरण गर्न उक्साएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ रजौरेले भने, ‘बालक अपहरणको कारण त थप अनुसन्धानपछि मात्रै खुल्छ । बालक अपहरण गर्ने महिलासँग रहेकी नन्दनी पनि उनकी छोरी होइन । त्यसतर्फ पनि अनुसन्धान भइरहेको छ ।’ बिहीबार बिहान ८ बजे जनकपुरधाम–११ बेंगा शिवपुरपिपराढीस्थित हाँस फार्म नजिकबाट मोहम्मदको उद्धार गरिएको उनले बताए । यसअघि पुस ८ मा जनकपुरबाट १४ महिने बालक अपहरण गरी भारततर्फ लैजाने क्रममा प्रहरीले नगराइन नगरपालिका–२ स्थित सीमा क्षेत्रबाट एक भारतीय नागरिकलाई पक्रेको थियो । जनकपुरधाम–१७ का रासलाल मुखियाका छोरा कृष्णलाई घर अगाडि सडकबाटै ०७८ पुस ७ गते अपहरण गरेको आरोपमा भारत बिहार राज्यको जिल्ला सीतामढी ग्राम पञ्चायत बाजपट्टीका सुरेश ठाकुरलाई प्रहरीले भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएका थिए । जिल्ला अदालतले ठाकुरलाई ०७८ माघ ३ गते पुर्पक्षका लागि सुनसरीको झुम्का कारागारमा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.