Fast Nepal News

२ लाख चुकाउन नसक्दा भूमिहीन

banner single news

नेपालगन्ज —  २८  माघ २०७८

नेपालगन्ज , आफ्नो जग्गा एक समूहले झुक्याई लगेको एक वृद्धको जाहेरी प्रहरीले दर्ता गरेको छ । नेपालगन्ज–२० मनिकापुरका हरिहर खटिकको जाहेरी दर्तासँगै प्रहरीले अनुसन्धान थालेको छ । ७० वर्षीय खटिकलाई लेखपढ आउँदैन, आँखा पनि प्रस्ट देख्दैनन् । खनखाँचो र बिरामी पर्दा उपचारका लागि गरी पटकपटक गरेर आफ्नै गाउँका दुर्गासमुद्र शुक्लसँग २ लाख रुपैयाँ ऋण लिएको बदलामा आफ्नो ३० कट्ठा जग्गा गुमाउनुपरेको जाहेरीमा छ । ऋणको रकम फिर्ता गर्न नसक्दा तमसुक भन्दै झुक्याएर सहीछाप गराई आफ्नो सबै जग्गा एक समूहले लुटेको जिकिर उनले जाहेरीमा गरेका छन् । उनको जग्गा शुक्लको नाममा भने पास भएको होइन । मालपोत परिसरमा लेखापढी व्यवसायीको काम गर्ने शुक्लसमेतको मिलेमतोमा झुक्याएर जग्गा लुटिएको भनाइ खटिक परिवारको छ । आफ्नो जग्गा फिर्ता पाउने आसमा खटिक प्रहरी, प्रशासन र अदालत धाइरहेका छन् । बाबुबाट अंश पाउन हरिहरका जेठा छोराले मुद्दा हालेका थिए । सुनुवाइका क्रममा बाँके जिल्ला अदालतले जायजेथाको विवरण मागेको थियो । मालपोत कार्यालयले अदालतलाई पठाएको पत्रमा हरिहरका नाममा जग्गा नै नभएको उल्लेख गरेपछि खटिक परिवारले बल्ल थाहा पाएका हुन् ।

‘मेरो जग्गा पापीहरूले हडपे,’ अदालत परिसरमा रुँदै गरेको भेटिएका हरिहरले पीडा पोखे, ‘म न्याय खोज्न कहाँ जाउँ ? मलाई अन्याय भयो ।’ उनका दुई छोरा छन् । परिवारका अनुसार कान्छा छोरा केही समय लागूऔषधको लती थिए । एउटी छोरी शारीरिक अपांगता भएकी छन् । सगोलमा रहेको परिवारमा हरिहर र उनकी भाउजूका नाममा ६० कट्ठा जग्गा थियो । जसमध्ये आफ्नो हकको ३० कट्ठा जग्गा ल्याप्चेकै भरमा अर्काले नामसारी गरेको हरिहरको भनाइ छ । ‘बिरामी हुँदा २ लाख ऋण लिएको हो । त्योभन्दा एक रुपैयाँ लिएको छैन,’ उनले भने, ‘ऋण लिएको कागजमा ल्याप्चे लगाउनु छ भन्दै थुप्रै कागजमा गराए । पछि जग्गा अर्कैका नाममा पास भएको थाहा पाएँ ।’ हरिहरको जग्गा राजमार्गबाट ५० मिटरको दूरीमा छ । उक्त जग्गा अहिले निकै महँगो मूल्य पर्छ । मालपोत कार्यालयमा पाइएको रेकर्डअनुसार हरिहरका नामको जग्गा पहिलो पटक २०७७ भदौ २४ मा अर्कैका नाममा नामसारी भएको पाइएको छ । ८० लाख रुपैयाँ बिगो राखेर जग्गा पास भएको कागजमा उल्लेख गरेको देखिन्छ । १० लाख रुपैयाँभन्दा बढीको जग्गा पास गर्दा रकम बैंक दाखिला गरेको हुनुपर्छ । तर, उक्त जग्गा नामसारी गर्दा पैसा कसरी लेनदेन भयो भन्ने उल्लेख छैन ।

उनको नामको जग्गा कित्ता नं. ४ को ३२२५, किन २० को २१८०, किन १११ को ४५७० वर्गमिटर जग्गा २०७७ असोज १२ मा जानकी गाउँपालिका–३ का सहाबुद्दिन बेहना, नेपालगन्ज–५ का रिजवान अली अन्सारी, १९ का साबिरअलि बेहना र २२ का राजेशकुमार कुर्मीले ९० लाख मूल्य राखेर मालपोत कार्यालयबाट राजीनामा पास गरेको कागज बनाएर मिसिल तयार पारेको पाइएको छ । २०७७ फागुन १० मा ४९ लाखको ऋण लिएको देखाएर हरिहरसँग कित्ता नं. १०४ को ३५१०, कि.नं. १६८ को ७७०, कि.नं. १७४ को ४५५ र कि.नं. ६६ को ४६० वर्गमिटर जग्गा रिजवान अली अन्सारीले दृष्टिबन्धक कागज पास गराएका छन् । दृष्टिबन्धकको कागजअनुसार ऋण तिर्न नसके जग्गा अन्सारीकै नाममा जाने छ । ‘मैले २ लाखभन्दा लिएको छैन । कागज गर्नुपर्छ भन्दै पटकपटक मालपोत लगे । मलाई छाप लगाएर पठाए,’ हरिहरले भने, ‘मेरो सम्पत्ति लुटिदिए ।’ हरिहरका नामबाट अर्काका नाममा दृष्टिबन्धक भएको जग्गा उनकी भाउजू कमलन खटिकका नाममा संयुक्त थियो । हरिहरको हिस्सा अर्कैका नाममा बिनाबैंक भुक्तानी सारेको मालपोत कागजबाट देखिएको छ । जग्गा पास गर्नेहरूले संयुक्त रूपमा पास गर्ने र दृष्टिबन्धक कागज गराउने पनि एउटै व्यक्ति पनि संलग्न छन् । जग्गा अर्कैका नाममा गएको थाहा पाएपछि खटिक परिवारले गत चैतमै प्रहरीमा ठगी उजुरी दर्ता गराउन खोजेको थियो ।

Inside Article Ads

तर त्यसबेला जग्गा हडपेकाहरूको प्रभावका कारण प्रहरीले उजुरी नै नलिएको भनाइ खटिक परिवारको छ ।प्रहरीको असहयोगका कारण हरिहरको मुद्दा अदालत पुग्न सकेको छैन । थाहै नदिई ल्याप्चे लगाएर निजामुद्दिन बेहनाले २०७७ भदौ २४ मा ८० लाख दिएको भन्दै जग्गा पास गराएको दाबी हरिहरको छ । साबिर अली, सहाबुद्दिन बेहना, राजेशकुमार कर्मी, रिजवान अली अन्सारीले तीनवटा कित्ता ९० लाखमा राजीनामा पास गराएका छन् । ‘मलाई लेखपढ आउँदैन, लिएको जम्मा २ लाख थियो, त्यसको नाममा पटकपटक उनीहरूले भनेका ठाउँमा ल्याप्चे लगाए,’ उनले भने, ‘मेरो ३० कट्ठा जग्गा खोसे मेरो संसार लुटियो ।’ हरिहरको परिवारमा पत्नी, छोरा, बुहारी, ३ नातिनातिनी छन् । न्यायका लागि ससुरालाई लिएर नेपालगन्ज लिएर आएकी बुहारी अर्चना ८ महिनाकी गर्भवती छन् । घरमा तीन बच्चा छन् । ‘ठूलो परिवार छ । अब एक इन्च जग्गा छैन । हाम्रो सर्वस्व लुटियो,’ उनले भनिन्, ‘जग्गा खानेहरू न्यायाधीश र प्रहरीलाई हामीले किन्छौ भन्दै उल्टै घरमा आएर धम्की दिन्छन् ।’

एक कानुन व्यवसायीका अनुसार खटिकको जग्गा आफ्नो नाममा गराएकाहरूले पास गर्दा गरिनुपर्ने प्रक्रिया पूरा गरेको देखिँदैन । ‘१० लाख रुपैयाँभन्दा बढी मूल्यको जग्गा पास गर्दा जग्गाधनीको खातामा पैसा जम्मा गरिएको हुनुपर्छ । यहाँ त जग्गाको मिसिल लिखत नै गायब छ,’ उनले भने, ‘जग्गा बेचेका भए त्यो बेचेको पैसा कहाँ गयो ? यति धेरै पैसा नगदमा लेनदेन हुँदैन, कारोबार कसरी गरिएको थियो भन्ने मालपोतमा कुनै प्रामाणिक कागज देखिँदैन ।’ हरिहरका छोरा इन्द्रदेव प्रहरी प्रशासन र भूमाफियाकै मिलेमतोमा भएको आफ्नो आवाज नसुनिएको आरोप लगाउँछन् । ‘हामीले पहिले पनि जाहेरी दिएका हौं, दर्ता गरिदिएनन्, हामी गरिब कहाँ गएर कसलाई भन्नु ?’ उनले भने । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेले पीडितले कुरा नबुझेर समस्या भएको बताए । ‘जाहेरी आएको १२/१५ दिन भयो । ठगीअन्तर्गत जाहेरी दर्ता भएर काम अनुसन्धान अगाडि बढाएका छौं,’ उनले भने, ‘त्यो जग्गाको अदालतमा मुद्दा पनि परेकाले थप खोजीनिती भइरहेको छ ।’ भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख छविलाल परियारले सम्बद्ध फाइल अध्ययन गर्न बाँकी रहेको बताए ।

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.