
काठमाडौँ — २७ माघ २०७८
काठमाडौँ , महँगो मूल्यमा भारतीय नुन खाँदै आएका मुस्ताङवासी आफ्नै गाउँठाउँको नुनु खानीबारे थप अनुसन्धान र उत्खनन नहुँदा खिन्न मान्छन् । बारागुङ मुक्तिक्षेत्र–३ तेताङस्थित कालीगण्डकी नदीदेखि करिब एक किलोमिटरभित्र रहेको नरसिङखोला छेउ नुनखानी छ । पोका नुन नआउने बेलासम्म मुस्ताङीहरू कि त तिब्बतको नुन कि यही खानीको नुन प्रयोग गर्दै आएको विगत सम्झन्छन् । स्थानीय वर्षामा पोखरीमा पानी जम्मा गर्ने र हिउँदमा पानी जमेपछि त्यही नुनिलो ढिक्का प्रयोग गर्थे । स्थानीय न्हाँ गुरुङका अनुसार २०६२ सालसम्म यहाँको पोखरीबाट वार्षिक ६० मुरी नुन निस्कन्थ्यो । साविकको छुक्साङ गाविसका तेताङ, छुक्साङ, चैले, ताम्बेलगायत गाउँका बासिन्दाले यहींको नुन सस्तो मूल्यमा पाउँथे । मुस्ताङको नुन खानीबाट चन्द्रशमशेरको पालामा समेत नुन झिकिएको इतिहास छ ।
( कान्तिपुर दैनिक )
