
लुम्बिनी — २५ माघ २०७८
लुम्बिनी , रूपन्देहीको सैनामैना नगरपालिका–४ का लेखनाथ न्यौपानेले विगत चार वर्षदेखि मौरीपालन गर्दै आएका छन् । विदेशबाट फर्केर कृषिमा होमिएका उनले पहिलोचोटि नै १० घार किने । ५ हजारका दरले किनेको घारमा २ घार मात्र बच्यो । घाटा लागे पनि सिकाइ भयो भन्ने सोचले उनले पुनः मौरीपालनलाई नै अघि बढाउँदै गए । हाल उनी ५० घार मौरीका मालिक छन् । कर्म गर्दै जाँदा सफलता र सिकाइ दुवै पाएको उनले बताए । ‘मौरीपालन सजिलो भने छैन,’ उनले भने, ‘मिहिनेत अन्य पेसामा भन्दा बढी छ ।’ सिजनअनुसारका पुष्परस गराउन घार बोक्दै विभिन्न जिल्ला धाउनुपर्ने बाध्यता मौरीपालन व्यवसायमा रहेको उनले जानकारी दिए । व्यावसायिक रूपमा अघि बढेका न्यौपानेले एकै घारबाट ३० देखि ३५ किलोसम्म मह उत्पादन हुने गरेको बताए । आफूले वार्षिक ३ लाखभन्दा बढी जोगाउन सफल भएको र अहिले मौरीपालनमा सैनामैना नगरपालिका लुम्बिनी प्रदेशकै अग्रणी पालिका भएको उनको दाबी छ ।
( कान्तिपुर दैनिक )
