Fast Nepal News

क्यानडाको राजधानीमा संकटकाल घोषणा

banner single news

काठमाडौँ — २४ माघ २०७८

काठमाडौँ , कोभिड-१९ भ्याक्सिन विरोधीहरूको प्रदर्शन नियन्त्रण बाहिर जान थालेपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । कोभिड-१९ का लागि तोकिएको मापदण्ड उल्लंघन गर्दै प्रदर्शन हुन थालेपछि ओटावाका मेयर जिम वाट्सनले संकटकालको घोषणा गरेका हुन् । प्रहरीभन्दा धेरै संख्यामा प्रदर्शनकारीहरू जम्मा हुन थालेपछि प्रदर्शन नियन्त्रणबाहिर गएको भन्दै राजधानीवासीको सुरक्षालाई मध्यनजर गर्दै संकटकाल घोषणा गरिएको मेयर वाट्सनले बताए । त्यहाँको सरकारले केहि दिनअघि क्यानडा-अमेरिका सीमा पार गर्नका लागि हरेक ट्रक चालकले भ्याक्सिन अनिवार्य रुपमा लगाउनुपर्ने निर्णय गरेको थियो ।

निर्णय सार्वजनिक भएलगत्तै क्यानडाका ट्रक चालकहरूले ओटावास्थित संसद् भवन अगाडि जम्मा भएर प्रदर्शन गरेका थिए । उनीहरूले तत्काल कोभिड-१९ को खोप अनिवार्य गरिएको निर्णय खारेज हुनुपर्ने भन्दै क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो नेतृत्वको सरकारको विरोध गरेका थिए । क्यानडेली रेडियो स्टेसन सीएफआरएमा बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरू दिन प्रतिदिन असंवेदनशील हुँदै गएकाले संकटकाल लगाइएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

Inside Article Ads

‘प्रदर्शनकारीहरूको तुलनामा हाम्रो शक्ति कम हुँदै गयो; त्यसले प्रदर्शन नियन्त्रणमा लिन नसक्ने अवस्था सिर्जना भएकाले हामीले संकटकाल लगाउने निर्णय गरेका हौँ‚’ मेयर वाट्सनले सीएफआरएसँग भने । प्रहरीले भने संकटकालमा आवश्यकताअनुसार प्रहरी परिचालन गरिने बताएको छ । क्यानडेली सरकारले कोभिड-१९ विरुद्धको खोप अनिवार्य गरेपछि केहि दिनअघिदेखि त्यहाँका ट्रक चालकहरूले बिच सडकमा ट्रक राखेर यातायात अवरुद्ध पार्नुका साथै उक्त सरकारी निर्णयविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।     

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.