
मोरङ, सुर्खेत — २४ माघ २०७८
मोरङ, सुर्खेत, प्रदेश १, मधेस र कर्णाली प्रदेशका मुख्यमन्त्रीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्रकुमार राईले आठ मन्त्री थपेर मन्त्रिपरिषद्लाई १३ सदस्यीय बनाएका छन् । पाँच मन्त्री नियुक्त भएसँगै कर्णालीको मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ । मधेसमा भने एक राज्यमन्त्री थपिएको हो । प्रदेश १ मा माओवादी केन्द्रबाट उपनेता रामकुमार राई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री र प्रमुख सचेतक झलकबहादुर मगर कृषि तथा पशुपक्षी विकासमन्त्रीमा नियुक्त भएका छन् । एकीकृत समाजवादीका तर्फबाट राजन राई सामाजिक विकासमन्त्री, खिनु लङ्वा (लिम्बू) पर्यटन तथा संस्कृतिमन्त्री र उपेन्द्र घिमिरे यातायात व्यवस्था तथा सञ्चारमन्त्री भएका छन् । घिमिरे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका नातेदार हुन् भने लङ्वा वरिष्ठ नेता झलनाथ खनालनिकट हुन् । कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रतापप्रकाश हाङ्गाम र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रकाश सरावगीले शपथ लिएका छन् । थापा र हाङ्गाम कांग्रेस सभापति शेरबहादुर देउवानिकट र सरावगी नेता कृष्णप्रसाद सिटौलानिकट हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका थिए ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी पाँचदलीय गठबन्धनको सरकारले आइतबार ७ बाट मन्त्रालयको संख्या १२ पुर्याउने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्रालयमा भने मन्त्रीका अलावा राज्यमन्त्री राखिएको छ । मन्त्रिपरिषद्मा कांग्रेसलाई ५, एकीकृत समाजवादीलाई मुख्यमन्त्रीसहित ४, माओवादी केन्द्रलाई ३ र जनता समाजवादी पार्टीलाई एक मन्त्रालय परेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एक मात्र सांसद विष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री छिन् । मन्त्रिपरिषद्ले तत्कालीन सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय मात्रै विभाजन गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार झिकेर यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय बनाएका छन् । जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि उत्पन्न हुँदा आइतबार बिहान ११ बजेका लागि तोकिएको शपथग्रहण ३ घण्टा ढिलो भएको थियो । मुख्यमन्त्री राईले कांग्रेसका प्रतापप्रकाश र सरावगीको मन्त्रालय हेरफेर गरेको भन्दै कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आपत्ति जनाएका थिए । शपथग्रहण सुरु हुने बेला सच्याइएको थियो ।
( कान्तिपुर दैनिक )
