Fast Nepal News

दाताले बनाइदिएको किसानको अदुवा कारखाना व्यापारीलाई

banner single news

काँकडभिट्टा — २४ माघ २०७८

काँकडभिट्टा , पहिले प्रशोधन नगरी नेपाली अदुवा भारत निर्यात हुन्थ्यो । अप्रशोधित अदुवाका कारण नेपाली किसानले निर्यात समयमा भारतीय सास्ती बेहोर्दै आएका थिए । भारतीय भन्सार र क्वारेन्टिनले दिने यस्तो सास्तीबाट किसानलाई सधैंका लागि छुटकारा दिने उद्देश्यले २०७२ सालमा झापाको मेचीनगर–१० लालपानीमा अदुवा प्रशोधन कारखाना स्थापना गरिएको थियो । पूर्वी नेपालका चार हजार अदुवा उत्पादक किसानलाई धुने र प्रशोधन गर्ने सुविधा प्रदान गर्ने उद्देश्यले करिब ७ करोड लगानीमा निर्माण गरी सरकारले नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघलाई कारखाना हस्तान्तरण गरेको थियो । संयुक्त राष्ट्रसंघको विश्व खाद्य तथा कृषि कार्यक्रमअन्तर्गत कारखाना निर्माण भएको हो । कारखानाले प्रतिघण्टा ६ टन अदुवा धुने, सुकाउने, ग्रेडिङ गर्नुका साथै दुई सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखेको थियो । तर करिब वर्ष दिन सञ्चालन गरेपछि कारखाना बन्द भयो । बीचमा राहुल एम्पेक्स नामक निजी कम्पनीले लिजमा सञ्चालन सुरु गरेको थियो । उक्त कम्पनीले पनि लामो समय चलाउन नसकेपछि तीन वर्षभन्दा लामो समयदेखि कारखाना अलपत्र थियो । यहाँ प्रशोधिन अदुवा एक दुई पटक बंगलादेश निर्यात गरिएको थियो ।

तर नेपाली कृषि उत्पादनमा बंगलादेशको भन्सारले ड्युटी बढी लिएका कारण बंगलादेश निर्यात ठप्प भएको थियो । अलपत्र कारखाना दुई महिनाअघिदेखि पुनः सञ्चालनमा आएको छ । अदुवा उत्पादक तथा व्यवसायी संघले एउटा निजी कम्पनीलाई १० वर्षका लागि कारखाना लिजमा दिएको छ । आदार एग्रो नेपाल नामक कम्पनीलाई मासिक १ लाख रुपैयाँ भाडा बुझाउने सर्तमा कारखाना जिम्मा लगाइएको हो । ‘कारखाना अलपत्र पार्नुभन्दा भाडामा दिँदा राम्रो होला भन्ठानेर सुम्पिएका हौं,’ अदुवा संघका अध्यक्ष नरेन्द्रकुमार खड्काले भने । भारतमा नेपाली अदुवाको माग खासै छैन । भारतमै पर्याप्त उत्पादन हुन थालेका कारण नेपाली अदुवाको माग गिरावट भएको खड्काको दाबी छ । ‘हाम्रो अदुवा अब भारतले किन्ने सम्भावना छैन,’ उनले भने, ‘नेपालमा भन्दा पारि नै अदुवा सस्तो मूल्यमा पाइन थालेको छ ।’

Inside Article Ads

कारखाना लिजमा लिने कम्पनी आदार एग्रोले नेपाली कच्चा अदुवालाई सोझै निर्यात गर्नुको साटो अदुवाका विभिन्न उत्पादनलाई निर्यात गर्ने योजना बनाएको छ । अदुवाको सुठो, पेस्टलगायतका आइटम प्याकेजिङ र ब्रान्डिङ गरी आन्तरिक बजारसँगै भारत तथा तेस्रो मुलुक निर्यात गर्ने लक्ष्य बनाएको कम्पनीका प्रमुख धर्मराज अधिकारीले जनाए । ‘नेपाली बजारसँगै विदेशमा पनि नेपाली अदुवाको उत्पादन पठाउने योजनामा छौं,’ उनले भने । किसानका अदुवा प्रशोधन गर्दा भने कम्पनीले न्यूनतम शुल्क असुल गर्ने जनाएको छ । ‘किसानका अदुवा प्रशोधन गर्दा शुल्क लिनु हाम्रो बाध्यता हो,’ अधिकारीले भने । कारखाना बन्नुअघि नेपाली किसानले भारतको नक्सलबारीमा अदुवा प्रशोधन गरी पठाउँथे । त्यसबापत अतिरिक्त शूल्क तिर्नुपर्ने बाध्यता थियो । कुल उत्पादनमध्ये करिब ९९ प्रतिशत अदुवा भारत निर्यात हुँदै आएको छ । एक प्रतिशत मात्रै आन्तरिक बजारमा खपत हुन्छ । तर, पछिल्लो समय नेपाली अदुवा निर्यात हुने क्रम घट्दो र आयातको क्रम बढ्दो पाइएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि अदुवा आयात बढ्दो र निर्यात क्रमशः ओरालो लाग्दो छ ।

( कान्तिपुर दैनिक )

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.