
काँकडभिट्टा — २१ माघ २०७८
काँकडभिट्टा , खुला सिमानामा चोरी, डकैती या तस्करी मात्रै हुँदैन, कहिलेकाहीं आपसमा सहयोग र सद्भावको विनिमय पनि हुन्छ भन्ने उदाहरण बिहीबार देखियो । सीमान्त नेपाली सहरस्थित एक जुत्ता कारखानाको गोदाममा आगो लाग्दा भारत पश्चिम बंगालको मतिगढा र नक्सलबारी क्षेत्रबाट दुईवटा दमकल आए अनि छिमेकमा परेको विपद्मा मलम लगाए । नक्सलबारी करिब तीन किलोमिटर र मतिगढा करिब २० किमि टाढाको भारतीय सहर हुन् । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको समन्वयमा भारतीय दमकल मेची तरेर आएका थिए । ‘भीषण आगलागीबाट हुन सक्ने क्षति कम गर्न भारतीय दमकल बोलाइएको हो,’ प्रजिअ रिजालले भने, ‘विपद्का बेला हुने यस्तो सहयोगले दुई देशबीच भाइचाराको सन्देश पनि प्रवाह हुन्छ ।’ प्रजिअ रिजालका अनुसार मेचीनगरको दमकल बिग्रिएर थन्किएको थियो । अन्य ठाउँबाट आउन समय लाग्थ्यो । तसर्थ सीमापारि भारतीय अधिकारीसँगको सहकार्यमा तत्कालै दमकल बोलाइएको हो । ‘दमकलसँगै चार जनाको विपद् व्यवस्थापन टोली पनि आयो,’ प्रजिअ रिजालले थपे, ‘उनीहरूले आगो नियन्त्रणसँगै मानवीय र अन्य क्षति कम गर्न सहयोग गरे ।’
भारतका दुईसहित झापा, मोरङ र इलामका करिब २० दमकल आगो नियन्त्रणमा परिचालन गरिएका थिए । एसएस फुटवेयर गोदाममा आगो लागेको करिब डेढ घण्टापछि भद्रपुर र बिर्तामोड नगरको दमकल आएका थिए । त्यतिबेला गोदाम आधाभन्दा बढी जलिसकेको थियो । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको करिब ५ घण्टा लामो प्रयत्नपछि मात्रै आगो नियन्त्रणमा आयो । मेचीनगर–६ स्थित गोदाममा बिहीबार बिहान साढे ११ बजे आगो सल्किएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आगलागीको मुख्य कारण विद्युत् सर्ट देखिएको छ । खास कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट करिब १० करोडको भौतिक क्षति भएको सञ्चालक श्यामसुन्दर खेतानले जनाए । उनका अनुसार गोदाममा बिक्रीका लागि तयार जुत्ता र जुत्ता बनाउन प्रयोग गरिने कच्चा पदार्थ थिए ।
मेचीनगरका दुइटा दमकल रहेकामा एउटा लामो समयदेखि र अर्को करिब एक महिनादेखि बिग्रिएर थन्किएका छन् । ‘आफ्नै नगरको दमकल नआउँदा क्षति धेरै भयो,’ जुत्ता कारखानाका सञ्चालक खेतानले भने, ‘समयमा दमकल आइदिएको भए आगो नियन्त्रण गर्न सहज हुने थियो ।’ गत पुस २२ मा मेचीनगर–८ का केशव पाठकको घरमा आगो लाग्दा पनि मेचीनगरको दमकल एक घण्टा ढिलो पुगेको थियो । आगो लागेको ठाउँ नगरपालिकाबाट करिब एक किलोमिटर मात्रै छ । ‘त्यो बेला दमकल समयमा नपुग्दा एक जनाको मृत्यु भयो । दर्जन व्यक्ति घाइते भए । घर पूर्ण रूपमा क्षति भयो,’ स्थानीय शिव मैनालीले भने, ‘बिहीबार पनि नगरकै लापरबाहीका कारण ठूलो क्षति भयो ।’ स्थानीय धनप्रसाद गुरुङले पनि सधैं तैनाथ राखिनुपर्ने अत्यावश्यक दमकल मर्मत र सम्भारमा नगरको चरम लापरबाही देखिएको बताए । इलामको अन्तुमा लागेको आगो निभाउन जाने क्रममा दुर्घटना भएपछि दमकल बिग्रिएको र नगरले अझै मर्मत नगरेको एक दमकल कर्मचारीले जनाए । उनका अनुसार दमकल मर्मतका लागि खर्चसहितको फाइल अघि नबढेको र मर्मत हुन नसकेको हो । नगर प्रमुख विमल आचार्यले भने, ‘दमकल बिग्रिएकै बेला आगो लाग्नु दुर्भाग्य भयो ।’
( कान्तिपुर दैनिक )
