
काठमाडौँ — २० माघ २०७८
काठमाडौँ , विदेश जानेहरूका लागि कोभिडको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । सरकारले पीसीआर परीक्षणका लागि सरकारी अस्पतालमा ८ सय रुपैयाँ र निजी अस्पतालमा १५ सय रुपैयाँ तोकेको छ । तर, राजधानीकै अस्पतालले ८ हजारदेखि १८ हजार रुपैयाँसम्म असुलेर नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको तथ्य खुलेको छ । महानगरीय अपराध महाशाखाले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चार कर्मचारीलाई नियन्त्रणमा लिएको छ । महाशाखाको टोलीले मंगलबार भक्तपुरको मध्यपुर थिमि गट्ठाघरमा अवस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका दुई र काठमाडौं तीनकुनेमा अवस्थित कान्तिपुर अस्पताल प्रालिका दुई कर्मचारीलाई पक्राउ गरेको हो । वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि ती अस्पतालबाट स्वाबको नमुना नलिई फोटो र पासपोर्टका आधारमा नक्कली पीसीआर रिपोर्ट बनाउने गरिएको महाशाखाले जनाएको छ ।
प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिसमेतको रोहबरमा दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्युटर मोनिटर १ थान, ल्यापटप १ थान, सीपीयू ३ थान, पीसीआर दर्ता रजिस्टर, नक्कली पीसीआर रिपोर्ट, रसिद प्याड र मोबाइल ५ थान बरामद गरेको छ । नागरिक अस्पतालका पीसीआर ल्याब सञ्चालक रौतहट राजदेवी नगरपालिका–४ बसतपुर घर भई भक्तपुर चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने ४० वर्षीय भावेश मिश्र र कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक काठमाडौं महानगर–३२ पेप्सीकोलाका ४० वर्षीय निर्मल गिरी फरार छन् । दुवै अस्पतालका पीसीआर ल्याब सिल गरिएको प्रहरीले जनाएको छ । ती अस्पतालका ल्याबले कतिपय व्यक्तिको स्वाब र परीक्षणबिनै नेगेटिभ रिपोर्ट दिने गरेको पाइएको छ ।
ती ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेका थिए । कतिपय पीसीआर पोजिटिभ देखिएका नमुनाको सीटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको भेटिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको बताए । ती अस्पतालले केही बिचौलियालाई अस्पतालको कर्मचारी भनी परिचयपत्रसमेत बनाई सामूहिक स्वाब संकलन गरेको भेटिएको महाशाखाले जनाएको छ । सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाबबिनै बिचौलियाले आफैंले आफ्नै वा परिवारकै स्वाब घरबाटै संकलन गरी ल्याएर विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको महाशाखा प्रमुख एसएसपी कुँवरले बताए । बिचौलिया/एजेन्ट र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी प्रतिव्यक्ति ८ देखि १८ हजार रुपैयाँसम्म असुल गरेको भेटिएको छ ।
( कान्तिपुर दैनिक )
