Fast Nepal News

पानीचरा आउलान् कहाँ सिमसारै नरहे

banner single news

पोखरा — २० माघ २०७८

पोखरा , हिउँद लागेपछि सगरमाथाभन्दा पनि माथिको उचाइबाट वेग हान्दै खोया हाँस नेपाल भित्रिन्छ । साइबेरिया, तिब्बत, मंगोलियालगायत मध्य एसियाका तालतलैया बरफ बन्दा खाना र न्यानोको खोजी हजारौंको संख्यामा खोया हाँस नेपाल भित्रिने गरेका थिए । पछिल्ला वर्षमा यी पाहुना चरा निकै कम संख्यामा देखिएका छन् । हिउँदे आगन्तुक पानीचरा गणनाका क्रममा नारायणी र कोसीमा झन्डै ३ सय ५० का हाराहारीमा खोया हाँस भेटिए । यसवर्ष पोखरा उपत्यकामा यो आगन्तुक एउटा पनि आएको भेटिएन । हिउँदमा बासस्थान हिउँले पुरिएपछि अरुण, कालीगण्डकी, कर्णालीलगायत नदी उपत्यका हुँदै पाहुना चरा दक्षिण झर्छन् । नेपालमा रहेका सिमसार क्षेत्रमा तीनदेखि चार महिना पाहुना चराले आफ्नो अड्डा जमाउँछन् । सिमसार क्षेत्रको संकुचनले भने हिउँदे आगन्तुक चराको आगमन वार्षिक रूपमा घट्दै गएको छ । पोखराका फेवा, बेगनास, रूपा, दिपाङ, खास्टे, न्युरेनी, गुँदे, मैदी र कमलपोखरी २०७२ को माघमा विश्व सिमसार दिवसमा रामसार सूचीमा सूचीकृत भएका हुन्  । तालमा रामसार सन्धीको मर्मविपरीत कार्य भइरहेका छन् । सिमसार क्षेत्र साँघुरिँदा आगन्तुक र रैथाने चरा घटेको तथ्यांकले देखाएको छ । दुई–तीन वर्षअघिसम्म ३०–३५ को संख्यामा देखिने मालक हाँस जनवरीमा भएको गणनामा एउटा मात्रै भेटियो । रैथाने लामाऔंले, कुर्मा र सिमकुखुराको संख्या पनि घट्दो छ ।

बेगनास तालको सिमसार क्षेत्रमा २० दिनअघिदेखि डोजर चल्यो । स्थानीयले माछापोखरी बनाउन खने । तालको उत्तर पश्चिमपट्टिबाट स्याङ्खुदी खोला मिसिन्छ । खोला मिसिने ठाउँमा दलदल छ । तालको माथिपट्टि स्थानीय चन्द्रकान्त तिवारीले माछापोखरी बनाएर रेस्टुरेन्ट चलाएका छन् । उनकै अगुवाइमा थप ४ वटा माछापोखरी बनाउन पोखरा–३१ का स्थानीयले बिनाअनुमति डोजर चलाएका हुन् । सिँचाइ डिभिजन कार्यालयले २०३८ देखि बेगनास सिँचाइ प्रणालीका लागि जग्गा अधिग्रहण गर्न सुरु गरेको थियो । स्थानीयले मुआब्जा लिए । पाँच सयभन्दा रोपनीभन्दा बढी जग्गा कार्यालयले आफ्नो मातहत ल्याएर २०४५ मा बाँध बाँध्यो । बाँध बनाएपछि स्थानीयसँग लिएको ३ सय ३० रोपनी डुबान क्षेत्रमा परिणत भयो । बाँकी ढापका रूपमा रह्यो । उक्त जग्गामा स्थानीयले डोजर चलाएका हुन् । गत बिहीबार ऊर्जा, जलस्रोत, खानेपानी तथा सिँचाइमन्त्री हरिशरण आचार्य मन्त्री आचार्य स्याङ्खुदी पुगेर काम रोकेका थिए ।

उता फेवाताल किनार खपौदीमा स्थानीयले धमाधम तालसँगै जोडेर पर्खाल लगाउन थालेपछि मन्त्री आचार्य र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ नै पुगेर रोक्नुपर्‍यो । तालको मुहानपट्टिको जग्गा किनबेच रोक्का भए पनि उत्तरतर्फ खपौदीपट्टि भने सिमसार क्षेत्रकै जग्गा खरिदबिक्री भइरहेको छ । ताल पुरेर रेस्टुरेन्ट बनाउने काम रोकिएको छैन । मुहानपट्टिको सिमसारमा पनि स्थानीयले खेतीपाती गर्ने, माछापालन गर्ने गरिरहेका छन् । पोखरा–२६ को खास्टे तालमा २०७२ सम्म जैविक विविधताले भरिपूर्ण थियो । ताल कमलको फूल र सिमलकाँडेले ढाकिने गरेको स्थानीय चुडामणि लामिछानेलाई सम्झना छ । राष्ट्रिय ताल विकास बोर्ड गठनपछि ताल संरक्षणका नाममा सिमसार मास्न सुरु भयो । २०७१ मा खास्टे न्युरेनी ताल संरक्षण विकास समिति गठन भयो । त्यतिबेलादेखि आँठो बाँध्न थालियो । सिमसार खनेर निकालिएको र अन्तैबाट ल्याएको माटोले वरिपरि ढिस्को उठाएर पानी थुन्ने काम भयो । सिमसार पुरिएर पानीको सतहले भरियो । २०७३ माघमा खास्टे न्युरेनी ताल मत्स्य तथा कृषि उत्पादन सहकारी संस्था गठन भयो । सहकारीले तालमा माछापालन थाल्यो । ताल संग्लिँदै गयो, सिमसारको क्षेत्र घट्दै गयो । तालसँगै वनभोज स्थल बनाएको छ । डुंगा चलाउन थालिएको छ ।

सिमसार मास्न संरक्षणकै क्षेत्रमा काम गर्ने संघसंस्थाले अनुदान दिएका छन् । हरियो वन कार्यक्रमअन्तर्गत विश्व वन्यजन्तु कोषले खास्टे तालको सौन्दर्यीकरणमा झन्डै ९० लाख रुपैयाँ खर्चिएको छ । गण्डकी प्रदेशको भू तथा जलाधार व्यवस्थापन कार्यालयले तालमा आर्थिक वर्ष २०७६/७७ मा ४० लाख रुपैयाँ खर्चियो । खास्टे न्युरेनी तालको विस्तार, संरक्षण र सौन्दर्यीकरण योजनामा भएको जथाभावीले सिमसार मास्न भूमिका खेलेको छ । ३ सय ८० रोपनीमा फैलिएको खास्टेको छेवैमा छ, न्युरेनी ताल । संरक्षण समिति एवं सहकारीका पूर्वअध्यक्ष हरिप्रसाद अधिकारी खास्टेलाई माछापालन र पर्यटकीय गतिविधिका लागि र न्युरेनीलाई जैविक विविधता संरक्षणमा प्रयोग गर्ने बताउँछन् । खास्टे तालमा भएका जलीय वनस्पति, जलचरलाई भने जोगाउन नसकेको उनी स्विकार्छन् । पोखरा–२७ को दिपाङ तालमा पनि राष्ट्रिय ताल विकास बोर्डले बाँध बनायो । हरियो वन कार्यक्रमले झन्डै ४० लाख रुपैयाँ तालमा खर्चियो । तालको दुई तिहाइ भाग ढाकेको जालो हटाएर एक तिहाइमा झारियो । भू तथा जलाधार कार्यालयले १० लाख रुपैयाँ तालको सौन्दर्यीकरणका नाममा खर्चियो । यहाँ सहकारी संस्थाले माछापालन गरेको छ । ताललाई घेर्ने गरी वरिपरि बाटो खनिएपछि बाहिरका सिमखेत पुरेर स्थानीयले घडेरी बनाएका छन् । बाहिरबाट माटो ल्याएर २ फिटसम्म पुरेका छन् ।

Inside Article Ads

सिमसारजति पानीले ढाकिएपछि यी तालमा चराचुरुंगी मुस्किलले देखा पर्छन् । दिपाङ ताल र खास्टेमा अण्डाबाट बच्चा कोरल्ने पानीचराको संख्या शून्य छ । खास्टेमा पाइने रैथाने हरि हाँसको संख्या घट्दो छ । रुपातालमा पनि माछापालन गर्दा रैथाने प्रजातिका जलजीव एवं जलीय वनस्पति खतरामा छन् । सिमसारविपरीत गतिविधि भइरहँदा भने नियमन शून्यप्राय छ । संविधानले सिमसारको जिम्मा संघ अन्तर्गतको वन तथा वातावरण मन्त्रालयलाई तोकेको छ । मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रामसारमा सूचीकृत सिमसार क्षेत्रको नियमन, व्यवस्थापन तथा संरक्षण गर्नुपर्छ । रामसार सूचीमा सूचीकृत भएपछि पनि पोखराका तालमा स्थानीयको मनपरि रोकिएको छैन । गण्डकी प्रदेशको ताल संरक्षण तथा विकास प्राधिकरणका निमित्त कार्यकारी प्रमुख इन्द्रप्रसाद अधिकारी संघका मन्त्रालयबीच एउटाले अर्कोलाई देखाउने प्रवृत्तिले उचित नियमन नभएको बताउँछन् । ‘रामसारमा सूचीकृत भएपछि संरक्षणका केही काम भएका छैनन्,’ उनले भने, ‘सिमसारको अवस्था पहिले कस्तो थियो, अहिले कस्तो छ भन्ने अध्ययनसम्म पनि भएको छैन ।’ सिमसारलाई स्वस्थ बनाउन वरिपरिको जलाधारको संरक्षण गर्ने गरी योजना बनाउनुपर्ने उनी बताउँछन् ।

मसारमा प्लटिङ गर्न, वरिपरि सडक खन्न रोक लगाउने, उपल्लो तटीय क्षेत्रको खेतबारीमा रासायनिक मल र कीटनाशक औषधि प्रयोगमा निषेध गर्नेलगायत कार्य स्थानीय तहले गर्नुपर्ने उनको सुझाव छ । पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे ताल भन्नेबित्तिकै माछा पाल्नैपर्ने, डुंगा चलाउनैपर्ने, बाटो खनेर घेर्नैपर्ने मानसिकताका कारण सिमसार संकटमा परेको बताउँछन् । ‘सौन्दर्यीकरण गर्ने नाममा तालमा हुने वनस्पति अनावश्यक रूपमा झिकिन्छन्,’ उनले भने, ‘पहिले चरा देखिने ठाउँमा अहिले देखिँदैनन् । चरा आउलान् कहाँ सिमसारै नरहे ।’ सिमसार जोगाउन स्थानीय नै पहिले सचेत हुनुपर्ने उनको तर्क छ । रामसारमा सूचीकृत कास्कीका यी तालका पानीले ओगटेको क्षेत्र ९२४ हेक्टर छ भने तालको जलाधार क्षेत्र र तालसँग अन्तर सम्बन्धित सेती जलाधार क्षेत्रसमेत गरी यी तालको सञ्जालले ओगटेको कुल क्षेत्रफल दुई हजार ६१० हेक्टर छ ।

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.