Fast Nepal News

ताप्लेजुङलाई चैतसम्म कोरोनाविरुद्ध खोपयुक्त जिल्ला बनाइने

banner single news

ताप्लेजुङ — १९ माघ २०७८

ताप्लेजुङ , ताप्लेजुङलाई चैत मसान्तसम्म कोरोना संक्रमणविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनाइने भएको छ । स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् । कोरोना संक्रमणविरुद्ध जिल्लाको अवस्थाका र योजनाका विषयमा सदरमुकाम फुङलिङमा आयोजित छलफल कार्यक्रममा सबैले आ-आफ्नो क्षेत्रबाट प्रयास र पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । छलफलमा फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल, उपप्रमुख बमबहादुर भट्टराई, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशर मेन्याङ्वो, आठराई त्रिवेणीका अध्यक्ष विश्वनाथ सिटौला, मेरिङदेनका गणेश लिम्बू र मिक्वाखोलाका रामकुमार साँवा र अन्य गाउँपालिकाका उपाध्यक्षहरु सहभागी थिए । प्रायः सबै पालिकाका स्वास्थ्य प्रमुखहरु कार्यक्रममा सहभागी थिए ।

फुङलिङ नगरपालिका–४ को वडा कार्यालयमा प्रत्येक दिन र तोक्मेडाँडा मन्दिर परिसरमा प्रत्येक हप्ताको शनिबार खोप लगाउने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।  पालिकाका खोप केन्द्रमा भने अभियान चलाउने निर्णय भएको छ । पुस मसान्तसम्मको तथ्यांकअनुसार जिल्लाका ६४ प्रतिशतले पहिलो र ६५ प्रतिशतले दोस्रो मात्रा खोप लगाइसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार एक नगरपालिका र आठ वटा गाउँपालिका रहेको जिल्लामा फुङलिङ नगरपालिकाका ७५ प्रतिशतले पहिलो र ७६ प्रतिशतले दोस्रो मात्रा खोप लगाएको छ । गाउँपालिकामा सबैभन्दा बढी फक्ताङलुङले ७५ प्रतिशत नागरिकलाई पहिलो र ७८ प्रतिशतलाई दोस्रो मात्रा खोप लगाएको छ । सबैभन्दा कम खोप लगाउने मेरिङदेन गाउँपालिका भएको छ । यहाँका ४७ प्रतिशतले पहिलो र ५१ प्रतिशतले दोस्रो मात्रा मात्रै खोप लगाएका छन् ।

Inside Article Ads

सिदिङवामा पहिलो र दोस्रो मात्रा खोप लगाउनेको संख्या समान ६३ प्रतिशत रहेको छ भने सिरिजंगामा पहिलो ७० र दोस्रो ६८ प्रतिशतले लगाएका छन् । मैवाखोलामा ५० प्रतिशतले पहिलो र ५५ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । मिक्वाखोलामा ५५ प्रतिशतले पहिलो र ५९ प्रतिशतले दोस्रो मात्रा लगाएको तथ्यांकमा उल्लेख छ । आठराई त्रिवेणीमा दुवै मात्रा लगाउने समान ६२ प्रतिशत छन् । पाथीभरा याङवरकमा ६० प्रतिशतले पहिलो र ६४ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । एक डोज मात्रै लगाए पुग्ने खोपलाई दोस्रो मात्रा मानिएकाले कतिपयमा पहिलाको तुलनामा दोस्रो मात्रा लगाउनेको संख्या बढी छ । जिल्लामा कोभिसिल्ड, एक्ट्राजेनेका, भेरोसेल, जन्सन र मोर्डना गरी पाँच प्रकारको भ्याक्सिन लगाइएको थियो ।

२०७८ पुस मसान्तसम्म ताप्लेजुङमा कोभिसिल्ड ३१ हजार ४ सय ६० प्राप्त भएकोमा ९ हजार ५ सय ९० मात्रै मौज्दात रहेको जनस्वास्थ्य अधिकृत राजकुमार पोख्रेलले बताए । भेरोसेल ८९ हजार १ सय ९७ प्राप्त भएकोमा २ सय २० मात्रै बाँकी छ । जोनसोन ९ हजार २ सय ५० प्राप्त भएकोमा १ हजार ४ सय मौज्दात छ भने अक्ट्राजेनेका १५ हजार २ सय ८० सबै प्रयोग भइसकेको छ । मोडर्ना २४ हजार ८ सय ७० प्राप्त भएकोमा ६ सय मात्रै बाँकी रहेको पाण्डे बताउँछन् । स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । प्रदेश एकको तुलनामा ताप्लेजुङले बढी खोप लगाएको छ । प्रदेश १ ले पुस मसान्तसम्म पहिलो ६२ र दोस्रो मात्रा ४८ प्रतिशतले लगाएका छन् । जिल्लामा बुस्टर डोज पनि दिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।                              

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.