
काठमाडौँ — १९ माघ २०७८
काठमाडौँ , एघार दिनअघि माघ ६ गते एकैदिन १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि एकखालको त्रास फैलिएको थियो । हुनपनि ओमिक्रोन भेरिएन्टको तीव्र फैलावटका कारण खोप लगाएका वयस्कसमेत संक्रमित भइरहेका थिए । दोस्रो लहरजस्तै अवस्था भयावह हुने त होइन भन्ने आकलनसमेत विज्ञहरुले गरेका थिए । तर पछिल्लो सात दिनयता स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्यांक हेर्दा संक्रमितको संख्या घट्ने क्रममा रहेको देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा मंगलबार १७ हजार ६७४ कूल परीक्षणमा ५ हजार ५८३ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमण दर ३१.६ रहेको छ । ४० भन्दा बढी संक्रमण दर देखिँदै आएकोमा संक्रमण दर ३० हाराहारीमा पुगेको तथ्यांक देखाउँछ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ रहेको छ । पुस २५ गते संक्रमितको संख्या १ हजार १६७ रहेकोमा त्यसपछि विस्तारै संक्रमण बढ्दै गएको देखिएकोमा माघ महिनादेखि संक्रमण चुलिएको थियो । पुस ३० गते परीक्षणका आधारमा संक्रमित हुनेको दर (पीपीआर) २४.७ रहेकोमा माघ १ गते संक्रमणदर हृवात्तै बढेर ३१.८४ पुगेको थियो ।
निकै नै संक्रामक मानिएको ओमिक्रोन भेरिएन्टको संक्रमणले माघ ४ गते एकैदिन संख्या १० हजार नाघ्यो । उक्त दिन १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको थियो । माघ ६ गते २७ हजार ४९७ जनाको कुल परीक्षणमा १२ हजार ३३८ जनामा संक्रमण देखिएको थियो जुन अहिलेसम्मकै बढी हो । सो दिन कुल संक्रमणदर ४४.८ रहेको थियो । हालसम्मको बढी पीपीआर भने माघ ८ गते रहेको थियो । उक्त दिन २० हजार १८७ जनाको कुल परीक्षणमा १० हजार २५४ जनामा संक्रमण देखिएकोमा पीपीआर ५०.७९ रहेको थियो । तथ्यांक हेर्ने हो भने ५०० भन्दा बढी सक्रिय संक्रमित र २०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला १८ वटा रहेका छन् । उपत्यकामा पनि संक्रमण घट्दै गरेको देखिन्छ । काठमाडौं उपत्यकामा हाल ४४ हजार ५३१ सक्रिय संक्रमित रहेका छन् । सोमबार ४७,४०७ सक्रिय संक्रमित रहेकोमा आइतबार भने सक्रिय संक्रमितको संख्या ५० हजार ८११ रहेको थियो ।
संक्रामक रोग विशेषज्ञ प्रा.डा. जनक कोइरालाले संक्रमणको बृहत् ट्रेन्ड हेर्दा घटेको देखिएको बताए । उनका अनुसार मृत्यु भने अझै बढ्न सक्छ । ‘काठमाडौँ उपत्यकामा घटेपनि मोफसलका जिल्लामा भने संक्रमण छ । अबको ३ देखि ४ हप्तामा घट्दै जाला र दैनिक ४०० देखि ५०० सम्म दैनिक संक्रमित पुग्ला,’ उनले भने । उनले धेरै जनसंख्यालाई देखिएको र धेरै गाह्रो नबनाएसम्म परीक्षणका लागि मानिसहरु नगएको बताउँछन् । डा. कोइराला भन्छन्– ‘अरु देशमा पनि ४ देखि ८ हप्तासम्ममा ओरालो लागेको देखिन्छ । धेरै कमलाई मात्र अस्पताल भर्ना गराएको छ । आशावादी रहौँ फेरी राहत होला । स्वास्थ्यका मापदण्ड पालना गर्न छोड्नुहुन्न किनकी नयाँ भेरिएन्ट कुन बेला आइपुग्छ थाहा छैन । मास्क लगााउने तथा सरसफाइमा ध्यान दिनाले रुघाखोकी अनि इन्फुल्एन्जाबाट बचाउँछ ।’ मन्त्रालयले नेपालमा पहिलोपटक मंसिर २० गते ओमिक्रोन पुष्टि भएको जनाएको थियो ।
अधिकांशमा ओमिक्रोन भेरिएन्ट पुष्टि भइसकेको बताउँछन् शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुन । डा. पुन भन्छन्– ‘घरका प्रायजसो सदस्यमा संक्रमण भएको देखिन्छ । २ हप्ताअघिझै अहिले मानिसमा डर हराएको छ । घरमै आराम गरेर निको हुने रहेछ भनेर धेरै जना परीक्षण र अस्पताल पनि गएनन् । ओमिक्रोनले गाह्रो पनि बनाएको छैन । तथ्यांक त परीक्षण गर्न गएपछि जोडिन्छ । परीक्षण गर्यो भने बढ्दै गएको देखिने हो ।’ उनले अघिल्लो लहरभन्दा तुलनात्मक रुपमा तेस्रो लहर छिटो गएर छिटै खस्किएको जस्तो देखिएको र हाल कोभिडको ग्राफमाथि उक्लिने सम्भावना अब नदेखिएको बताए । डा पुनका अनुसार ओमिक्रोनले सबैलाई जटिल नपारेपनि जोखिम समूहका केहीलाई गाह्रो बनाउन सक्छ त्यसैले सरकारले सकेसम्म परामर्श तथा उपचारमा ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘केही हप्तामा पार हुनेवाला छ । सन् २०२२ मा या भाइरस कमजोर हुन्छ वा हामी बलियो हुन्छौँ,’ उनले भने ।
अस्पताल भर्ना हुनेको संख्या स्थिर
तेस्रो लहरमा संक्रमितको संख्या अत्यधिक रुपमा पुष्टि भएपनि अघिल्लो लहरभन्दा अस्पताल बिरामी भर्ना हुने कम देखिएका छन् । साथै भर्ना भएकालाई पनि जटिलता देखिएन । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार संक्रमितको संख्या बढ्दा पनि बिरामी भर्नाको संख्यामा धेरै चाप नबढेको बताए। उनले भने –‘दोस्रो लहरमा संक्रमितहरुको संख्या १० देखि १२ हजार कट्दा पनि बिरामीको संख्या बढेको पाइएन ।’उनका अनुसार २० देखि २२ जनाको हाराहारीमा बिरामी उपचार गराइरहेका छन् । उनले परीक्षण गराउन आउनेको संख्या पनि घट्दै गएको बताए । अस्पतालमा ३०० सय भन्दा बढी दैनिक परीक्षण हुने गरेकोमा हाल २ सयसम्म मात्र कोरोनाको परीक्षण गराउन आइरहेका छन् । ‘बिरामीको संख्या कम भएको भन्न मिल्दैन । स्थिर नै छ । भर्ना हुने ज्येष्ठ नागरिकहरु छन् । ओपीडीमा आउने, फिभर किल्निकमा आउनेहरु भने गएको एक हप्तामा कम देखिएका छन्,’ उनले भने ।
त्यसैगरी त्रिवि शिक्षण अस्पतालको कोभिड वार्डमा हाल १३४ जना उपचाररत छन् । कोरोना पुष्टि भएका धेरै सीओपीडी, मिर्गौलाका समस्या भएर उपचाररत छन् । ‘भर्ना भएकाहरु कोरोनाले जटिलता ल्याएको बिरामी छैनन् । दीर्घरोगका कारणले भर्ना भएका हुन् । संक्रमण घट्दै गएपनि अस्पतालमा बिरामी कम हुन अझै केही समय लाग्छ । बिरामीको भर्ना हुने संख्या स्थिर नै रहेको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले संक्रमण घटेको जस्तो देखिएपनि जोखिम भने नहटेको बताउँछन् । डा. अधिकारी भन्छन्– ‘जोखिमको हिसाबले नयाँ भेरिएन्ट आउने सम्भावना छ नै । हामी पिकको अवस्थाबाट बिस्तारै कम हुँदै गएको तथ्यांकले देखाएपनि जोखिमको हिसाबले तत्काल निष्कर्षमा पुग्न सकिँदैन ।’
( कान्तिपुर दैनिक )
