
काठमाडौँ — १९ माघ २०७८
काठमाडौँ , राष्ट्रिय जनगणना २०७८ को प्रक्रिया र प्रारम्भिक नतिजाप्रति संघीस सांसदले असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभा अर्थ समितिले मंगलबार संसद् सचिवालयमा गरेको ‘१२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा’ विषयक छलफलमा कतिपय सांसदले आफू नै गणनामा छुटेको बताए । छलफलमा सहभागी सांसदले जनगणना प्रक्रिया त्रुटिपूर्ण रहेको र गणकले सोधपुछ नगरी आफूखुसी विवरण भर्ने गरेको आरोप लगाए । जनगणनाका बेला आफू तथा आफ्नो परिवार छुटेको र टोलमा गणक आइनपुगेको पनि उनीहरूको भनाइ थियो । ‘जनगणनाका बेला म आफ्नो घर उदयपुरको त्रियुगा नगरपालिका–५ मै थिएँ,’ सांसद प्रमिला राईले भनिन्, ‘मेरो घरमा कुनै कर्मचारी तथ्यांक लिन आएनन् । त्यसैले सही रूपमा यो तथ्यांक आएको छैन ।’ सांसद पदम गिरीले पनि आफू र आफ्नो परिवार छुटेको बताए । ‘जनगणनामा म छुटेको छु, यो गम्भीर सवाल हो,’ उनले भने, ‘जनगणनामा तीन तहको सरकारबीच समन्वय भएन । व्यावहारिक रूपमा स्थानीय सरकार परिचालन गर्न सकेन ।’ बाँकेकी सांसद सरवत आरा खानमले आफ्नो घरमा गणक नआएपछि खोधखोज गर्दै जनगणना कार्यालय पुगेको सुनाइन् । ‘म मुस्लिम पहिरनमै थिएँ,’ उनले भनिन्, ‘गणकले इन्डियन भएकाले जनगणना लिएनौं भने । मैले हामी इन्डियन होइन भनेर भर्न लगाएँ । जातजाति, भाषा, धर्मको विषयमा चासो भए पनि उनले भर्न मानेनन् ।’
अर्का सांसद रामबाबु यादवले जनगणनाको पूर्वतयारी क्रममा पर्याप्त छलफल र बहस हुन नसकेको बताए । ‘मेरो क्षेत्रमा सडक आसपासमा मात्र जनगणना लिए,’ बाराको कलैया–४ को प्रसंग उल्लेख गर्दै उनले भने, ‘सडकछेउ हुनेखाने बस्छन् । अल्पसंख्यक जाति छुटेका छन् ।’ सांसद सत्या पहाडीले संघीयता अनुकूल जनगणना हुन नसकेको टिप्पणी गरिन् । परम्पराबाट मुक्त हुन नसकेको उनको भनाइ थियो । ‘जनगणनाले कम्तीमा नेपालको चित्र ल्याउन सक्नुपर्छ,’ उनले भनिन् । सांसद सुरेन्द्र पाण्डेले जनगणनाको विधि नै ठीक नभएको बताए । ‘जनगणनाका प्रश्न कमजोर छन्,’ पूर्वअर्थमन्त्रीसमेत रहिसकेका पाण्डेले भने, ‘कृषि र कृषकको परिभाषा बदल्न सकेनौं । कृषिमा आत्मनिर्भर संख्या न्यून छ तर ६८ प्रतिशक कृषक भन्नु कति तथ्यपरक हो ?’ पाण्डेले यसअघिको तथ्यांकका आधारमा मुलुकको जनसंख्या प्रक्षेपण गर्दा ३ करोड नाघिसकेको तर जनगणनाको प्रारम्भिक नतिजाले जनसंख्या वृद्धिदर घटेको देखाउनु विकसित मुलुकभन्दा कम भएको बताए ।
( कान्तिपुर दैनिक )
