
कपिलवस्तु — १९ माघ २०७८
कपिलवस्तु , हाँस प्रजातिको बैकालगैरी चरा जगदीशपुर तालमा पहिलोपटक देखिएको छ । पक्षी अवलोकनका क्रममा चराविद्हरू रमेश चौधरी तथा पोल्यान्डका माकिज कोट्लारस्कीले गत साता हाँसको उक्त प्रजाति देखेका हुन् । यो फिरन्ते चरा तस्बिरसहित जगदीशपुरमा पहिलोपटक अभिलेखीकरण भएको छ । तालको पूर्व छेउबाट अढाई/तीन सय मिटर पश्चिमतिर बीचमा उक्त चरा देखिएको चौधरीले बताए । यहाँ देखिएको चरा वयस्क भाले हो । ‘नेपालमा ७ पटक मात्र देखिएको रेकर्ड रहेको चरा जगदीशपुरमा पहिलोपटक देख्न पाउँदा निकै खुसी भयौं,’ उनले भने, ‘माघ तेस्रो साता सुनसरीको बर्जु तालमा पनि एउटा बैकालगैरी अभिलेख गरेका थियौं ।’
२००५ मा काठमाडौं उपत्यकाको टौदहमा देखिएको थियो । सन् २०१२, २०२० र २०२१ मा सुनसरीको बर्जु तालमा देखिएको यो चरा नेपालको संकटापन्न चराहरूको रातो किताबमा उल्लेख छ । रुसको बैकाल तालमा यसले ओथारो बसेर बच्चा कोरल्ने चराविद्हरू बताउँछन् । त्यही भएर यसको नाम बैकाल राखिएको हो । उता निकै चिसो हुने याममा जाडो छल्न यो चराले पूर्वी एसियाको यात्रा गर्छ । ‘नेपालमा हालसम्म एक पटकमा दुईवटाभन्दा बढी संख्यामा देखिएको रेकर्ड छैन,’ वरिष्ठ चराविद् डा. हेमसागर बरालले भने । मध्यम आकारको फिरन्ते हाँसको यो प्रजाति निकै सुन्दर हुन्छ । तौल बढीमा ६ सय ग्रामसम्मको हुने यो पानीचराले लेउ, चिप्लेकिरा, बिभिन्न प्रकारका बीउ र पानीमा उम्रने झारका मुनालाई आहार बनाउँछ । वर्ष दिनपछि प्रजननका लागि योग्य हुने यो चराको पोथीले एक पटकमा ८ देखि १० वटा फूल पार्छे ।
( कान्तिपुर दैनिक )
