Fast Nepal News

बेलायतका विमानस्थलबाटै फर्काइँदै नेपाली विद्यार्थी

banner single news

लन्डन — १९ माघ २०७८

लन्डन , बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल ल्यांकसायरमा स्नातक तह (ब्याचलर अफ आर्टस् विथ अनर्स इन बिजनेस म्यानेजमेन्ट) पढ्न आएका चार जना विद्यार्थी जनवरी तेस्रो साता म्यानचेस्टर विमानस्थलमा समातिए । सोधपुछ गर्दा ती विद्यार्थीले झूटा विवरण पेस गरेको, आफूले अध्ययन गर्ने विषयवस्तुबारे पर्याप्त ज्ञान नभएको, विश्वविद्यालयलाई तिर्न बाँकी शुल्क र खान बस्नका लागि बैंकमा रकम नभएको, अंग्रेजीसमेत राम्ररी बोल्न नसकेर दोभाषे राख्नुपरेको आदि कारण देखाउँदै अध्यागमन अधिकृतले ‘अध्यागमन ऐन, १९७१’ अन्तर्गत भिसा रद्द गरेर नेपाल फिर्ता पठाइदिएका थिए । अचेल यस्ता घटना दोहोरिरहेका छन् । बेलायतले जुलाई १ देखि कुनै पनि ब्रिटिस विश्वविद्यालयबाट स्नातक तह पूरा गरेका विदेशी विद्यार्थीले थप २ वर्ष काम गर्न पाउने नियम लागू गरेपछि नेपालबाट पनि सयौं विद्यार्थी यहाँ पढ्न आएका छन् । तर, अंग्रेजीमा दख्खल नहुनु, आफू पढ्ने विश्वविद्यालय, कोर्स र बेलायती जीवनबारे पर्याप्त जानकारी नराख्नु, एजेन्टमा भर पर्नु र अध्ययनभन्दा कमाइ मुख्य लक्ष्य राख्न थालेपछि विद्यार्थीहरू बिचल्लीमा पर्ने गरेका हुन् ।

हडर्सफिल्ड युनिभर्सिटीका एसोसिएट डिन (इन्टरनेसनल) प्रा. डा. पदम सिम्खडा विशेषगरी दक्षिण एसियाबाट आउने विद्यार्थीमा समस्या पाइएको बताउँछन् । ‘मेरो जिम्मेवारी नै अन्तर्राष्ट्रिय विद्यार्थीका समस्या सुल्झाउन प्रयास गर्ने भएकाले हरेक दिन नेपाली विद्यार्थी अप्ठेरोमा परेको सुन्नमा आउँछ । विद्यार्थीमा तयारी नहुनु नै यो समस्याको प्रमुख कारण हो,’ डा. सिम्खडाले कान्तिपुरसँग भने, ‘विद्यार्थी आफूले केही काम नगरी एजेन्टमा भर पर्ने गर्छन् । कतिपयलाई कोर्स के, कहाँ र कहिले सुरु गर्ने ? मोड्युल के हो ? बेलायत आएर कसरी सर्भाइभ गर्ने जस्ता सामान्य ज्ञान पनि हुँदैन । पढ्न बेलायत आउने भएपछि गृहकार्य त चाहियो नि ।’ डा. सिम्खडा यूकेभिआईले अक्टोबर २० देखि यूके पढ्न आउन आईएलटीएस अनिवार्य गरेको जनाउँदै पहिले नै अंग्रेजीबिना आवेदन दिएका विद्यार्थी अहिले यता आएर अध्यागमनमा समस्या झेल्न बाध्य भएका बताउँछन् ।‘यसमा नेपालस्थित शैक्षिक कन्सल्टेन्सीको पनि दोष छ । कन्सल्टेन्सीले कमिसनको प्रलोभनमा जस्ता विद्यार्थी पनि भर्ना गरिदिने, आईएलटीएस नभए पनि विश्वविद्यालयको आन्तरिक अंग्रेजी परीक्षाले चल्छ भनेर प्रोत्साहित गर्ने, कमाइन्छ भनेर सपना देखाउने अनि लन्डनमा जति पनि काम छ भनेर म्यानचेस्टर 
र लिभरपुल पठाइदिने गर्दा विद्यार्थी बिचल्लीमा पर्छन्,’ उनले भने ।

ब्राइटनस्थित युनिभर्सिटी अफ ससेक्समा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनमा मास्टर्स गरिरहेकी चिभिनिङ स्कलर हुन् सरिता सुवेदी । बेलायत आएर पढ्नु आफैंमा राम्रो भए पनि आउनुअघि यहाँको अवस्था र आएपछि कलेजलाई तिर्ने शुल्क, खानेबस्ने प्रबन्ध कसरी गर्ने भन्नेबारे राम्रोसँग जानकारी लिएर आए दुःख पाउनबाट बचिने उनको बुझाइ छ । ‘म आफू पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको भए पनि यहाँको विद्यार्थी जीवन सहज छैन भन्ने महसुस गरेकी छु,’ चार महिनाअघि बेलायत आएकी उनले कान्तिपुरसँग अनुभव साटिन्, ‘बेलायतमा धेरै सिक्ने अवसरका बाबजुत पनि कतिपय नेपाली विद्यार्थीले बीचमै अध्ययन छोड्ने गरेको देखें । त्यसको प्रमुख कारण नेपालबाट आउनुअघि कुन विश्वविद्यालय र विषय आफ्ना लागि अनुकूल छ भनेर नबुझ्नु, पैसा कमाउने मात्र उद्देश्य राखेर आउने गर्दा धेरैले दुःख पाएका छन् ।’

Inside Article Ads

बेलायतमा विद्यार्थीका लागि धेरै प्रकारका छात्रवृत्ति पनि भएकाले बुझेर आवेदन दिए आर्थिक रूपमा समेत सहज हुने उनको सुझाव छ । ‘यहाँका विश्वविद्यालयको पढाइ र बेलायती जीवनयापन नेपालभन्दा धेरै फरक छ । यहाँ पढेर कति अंक ल्यायौ भन्दा पनि के सिक्यौ भन्ने कुरामा धेरै ध्यान दिइन्छ । दुःख नगरी केही पनि प्राप्त गर्न सकिँदैन भन्ने कुरा बुझ्न यहाँ धेरै समय लाग्दैन,’ उनले भनिन् । लन्डनस्थित नेपाली दूतावासले विद्यार्थीका समस्या सोसल मिडिया र समाचारमार्फत थाहा पाएपनि आधिकारिक रूपमा कसैले सम्पर्क नगरेको जनाएको छ । ‘हामीले सोसल मिडियातिर विद्यार्थी फिर्ता पठाइएको चाल पायौं । तर, कसैले पनि यो समस्या पर्‍यो भनेर दूतावासमा फोन गरेको छैन,’ कार्यवाहक राजदूत रोशन खनालले भनिन्, ‘हामी वास्तविक तथ्य बुझ्न प्रयासरत छौं ।’

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.