
काठमाडौँ — १८ माघ २०७८
काठमाडौँ , चालु आर्थिक वर्षका सात महिनामा घर बनाएका सबै भूकम्पपीडितले अझै रकम पाउन सकेका छैनन् । अहिलेसम्म निवेदन दिएका ७२ हजार ७ सय ३ जनामध्ये १३ हजार ४ सय ८ जनाले मात्र रकम पाएका छन् । ५९ हजार २ सय ९५ जनाले अझै रकम पाउन सकेका छैनन् । समयमै अर्थ मन्त्रालयबाट रकम स्वीकृत भएर नआउँदा रकम वितरणमा ढिलाइ भएको सहरी विकास मन्त्रालयको भवन विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का उपनिर्देशक झप्परसिंह विश्वकर्माले जानकारी दिए । ‘तर अहिले समस्या छैन,’ उनले भने, ‘प्रक्रिया पूरा भएकाहरूलाई रकम वितरण गरिसकिएको छ ।’ अहिले कसैको पनि रकम नरोकिएको उनको दाबी छ । ‘निवेदन दिने सबैलाई रकम दिइहाल्ने भन्ने हुँदैन,’ उनले भने, ‘प्राविधिकले भूकम्पमैत्री घर बनेको छ भनेर सिफारिस गरेपछि रकम दिन्छौं ।’ निवेदन दिनेको संख्या धेरै भए पनि क्रमशः प्रक्रिया पूरा गरेकालाई रकम वितरण गर्दै जाने उनको भनाइ छ ।
कार्यालयका अनुसार पहिलो किस्ता पाउन बाँकी ५ हजार २ सय ८६ लाभग्राहीमध्ये अहिलेसम्म १ हजार ५ सय २७ जनाले मात्र रकम पाएका छन् । ३ हजार ७ सय ५९ जनाले रकम पाउन सकेका छैनन् । पहिलो किस्तामा लाभग्राहीले ५० हजार रुपैयाँ पाउँछन् । यसअनुसार १८ करोड ७९ लाख ५० हजार वितरण गर्न बाँकी छ । २३ हजार ५ सय ९२ जनाले दोस्रो किस्ता पाउनुपर्नेमा अहिलेसम्म ३ हजार ७ सय ५० जनाले मात्र पाएका छन् । अझै १९ हजार ८ सय ४२ ले दोस्रो किस्ता पाउन सकेका छैनन् । दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिइनेछ । सबैभन्दा धेरै तेस्रो किस्ता पाउनेको संख्या भए पनि सबैले अहिलेसम्म रकम पाउन सकेका छैनन् । ४३ हजार ८ सय २५ जनाले तेस्रो किस्ता पाउनुपर्नेमा माघ ११ सम्म ८ हजार १ सय ३१ जनाले मात्र रकम पाएका छन् । अझै ३५ हजार ६ सय ९४ जनाले तेस्रो किस्ता पाएका छैनन् । घर बनाइसकेपछि तेस्रो किस्ताका रूपमा १ लाख रुपैयाँ दिइनेछ । अर्थ मन्त्रालयबाट ३ अर्ब ७० करोड रुपैयाँ रकम स्वीकृत भएर आएकामध्ये अहिलेसम्म १ अर्ब ४५ करोड १९ लाख ५० हजार रुपैयाँ मात्र वितरण भएको कार्यालयले जनाएको छ ।
निवेदन आए पनि केकति काम भएको छ वा छैन, प्राविधिकले हेर्ने र सुधार गर्नुपरे सुधार गरेर मात्र रकम पाउने निर्णय गर्ने उपनिर्देशक विश्वकर्माले बताए । भूकम्पपीडितले घर निर्माण पूरा गरेको वर्ष दिन बित्दा पनि रकम नपाएको गुनासो गर्दै आएका छन् । न्यून आयस्तर भएका केही भूकम्पपीडितले भने ऋण गरेर घर बनाएको र निवेदन दिएको लामो समय बित्दा पनि अझै रकम पाइनसकेको बताएका छन् । ‘सुरुमा रकम नपाएर समस्या भए पनि अब समस्या हुने छैन,’ विश्वकर्माले भने, ‘प्रक्रिया पूरा भएर आउने कसैको पनि रकम रोकिने छैन ।’ अति प्रभावित १४ र कम प्रभावित १८ सहित ३२ जिल्लामा लाभग्राही सूचीमा पर्नेको संख्या ८ लाख ६६ हजार २ सय छ । यसमध्ये अनुदान सम्झौता ८ लाख २७ हजार ३ सय ४० ले गरेका छन् । निजी आवास पुनर्निर्माण ६ लाख १७ हजार ८ सय ९७ ले मात्र गरेका छन् । २ लाख ९ हजार ४ सय ४३ घरको अझै पुनर्निर्माण भइसकेको छैन । भूकम्प गएको सात वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म ७५ प्रतिशत मात्र निजी आवास निर्माणको काम सकिएको छ । १७ प्रतिशत निर्माणका क्रममा रहेको कार्यालयले जनाएको छ ।
( कान्तिपुर दैनिक )
