Fast Nepal News

टनकपुरबाट पानी आउने संरचना बन्यो, नेपालतर्फ अलमलमै

banner single news

कञ्चनपुर — १८ माघ २०७८

कञ्चनपुर , महाकाली सिँचाइ आयोजनामा तेस्रो चरणको नहर निर्माण सुरु भएको डेढ दशकभन्दा बढी भइसक्यो । अहिलेसम्म १२.८ किमि मूल नहर मात्रै निर्माण भएको छ । आयोजनाको मुख्य समस्याका रूपमा रहेको टनकपुर बाँधदेखि नेपाल–भारत सीमासम्म मूल नहर निर्माणको काम सकिएको छ । भारतीय पक्षले नहर निर्माणको काम सकेर परीक्षणको तयारीसमेत गरेको छ । अहिलेसम्म भारतले आफ्नो भूभागतर्फ नहर निर्माण नगरे नेपालतर्फ मात्रै नहर बनाएर के गर्ने भन्ने प्रश्न उठ्ने गरेको थियो । अब भने टनकपुर बाँधबाट छाडिने पानी कहाँ उपयोग गर्ने भन्ने चिन्ता र चासो सुरु भएको छ । सबैभन्दा बढी समस्या सीमा क्षेत्रमै नेपालतर्फ २ सय २० मिटर नहर निर्माण हुन बाँकी छ । भारतले नहरमा पानी छाडे पनि यहीं रोकिने अवस्था छ । ‘अहिले परीक्षण गराएर पानी बन्द गराउनुको विकल्प छैन,’ महाकाली सिँचाइ आयोजनाअन्तर्गत तेस्रो चरणका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले भने, ‘सबैभन्दा ठूलो कुरा भारतमा बनेको र हाम्रोतर्फ बनेको नहर जोड्न बाँकी छ । जसका कारण हामीले हाम्रोतर्फको नहरको परीक्षणसमेत गर्न सक्ने अवस्था छैन ।’  

उक्त नहर निर्माणका लागि असारसम्मको अवधि तोकिएको उनले बताए । निर्माण कम्पनीलाई त्यसअगावै काम सक्न पनि दबाब दिइरहेको उनले जानकारी दिए । टनकपुर बाँधबाट पानी छाडे तत्काल खोलामा फाल्नुको विकल्प नरहेको आयोजनाका प्राविधिक बताउँछन् । अहिले ब्रह्मदेवदेखि मुसेपानीसम्म मूल नहर निर्माण भएकाले भारतले पानी पठाए मुसेपानी खोलामै छाड्नुपर्ने उनीहरूको भनाइ छ । एकीकृत महाकाली सन्धि भएको अढाई दशकपछि भारतले टनकपुर बाँधबाट नेपालतर्फ सिँचाइका लागि पानी दिने सम्झौताअनुसार नहर निर्माण गरेको हो । सन्धिअनुसार नेपालले टनकपुर बाँधबाट सिँचाइका लागि १ हजार क्युसेक पानी पाउनेछ । ‘हाम्रोतर्फ प्रयोग नहुने भएपछि टनकपुर बाँधबाटै पानी ल्याइनेछैन,’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भने, ‘अहिले बनेको मूल नहरलाई जोड्न पनि दुई/तीन महिना लाग्छ ।’ मूल नहर निर्माणसँगै तत्काल २२ वटा शाखा नहर निर्माणका लागि पनि टेन्डर खोल्ने तयारी भइरहेको उनको भनाइ छ । दुई वर्षभित्र शाखा नहर निर्माण भएपछि मात्रै सिँचाइका लागि नहरमा पानी सञ्चालन गर्न सकिने उनले बताए ।
२२ वटा शाखा निर्माण भएपछि ५२ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । भारतीय क्षेत्रमा १२ सय मिटर नहर निर्माणको काम सकिएर नहरको उद्घाटनको तयारीसमेत गरिएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट नहर उद्घाटन गर्ने कार्यक्रम थियो । प्रधानमन्त्रीको भारत भ्रमण स्थगन भएपछि नहर उद्घाटनको कार्यक्रम पनि रोकिएको हो ।  विगतमा टनकपुर बाँधबाट नेपालतर्फ सिँचाइका लागि पानी दिने टनकपुर जलाशयको सतहका विषयमा विवाद थियो । यही विवादका कारण पनि भारततर्फ नहर निर्माणमा ढिलाइ भएको हो । पछिल्लो समय दुवै देशबीच नेपालतर्फ २४४ दशमलव ५ मिटर उचाइमा पानी छाड्ने सहमतिपछि भारतीय भूभागमा नहर निर्माण सुरु भएको हो । आयोजनाअन्तर्गत हालसम्म १२ दशमलव ८ किमि मूल नहर निर्माण भएको छ ।  
Inside Article Ads
थप १५ किमि मूल नहर निर्माणको काम तीन प्याकेजमा चलिरहेको छ । १८ किमि मूल नहरमा २२ वटा शाखा निर्माण हुने आयोजना निर्देशक बमले बताए । १५ किमिभित्र तीनवटै प्याकेजको काम आधाभन्दा बढी भइसकेको छ  आयोजनाअन्तर्गत ब्रह्मदेवबाट कैलालीको माला खेती हुँदै कञ्चनपुरको पुनर्वाससम्म १ सय ५१ किमि नहर निर्माण गरिनेछ । उक्त नहरबाट करिब ३५ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा पनि नहर निर्माणका लागि सर्भे सुरु भएको छ । महाकाली सन्धिअनुसार दोधारा चाँदनी क्षेत्रमा सिँचाइका लागि भारतले शारदा नहरबाट ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्नेछ । उक्त क्षेत्रमा पनि नेपाल–भारत सीमासम्म भारतीय क्षेत्रको नहर भारतले नै निर्माण गर्नुपर्ने प्रावधान छ । उक्त क्षेत्रमा १६ किलोमिटर मूल नहर निर्माण हुनेछ । यसबाट ३१ सय हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ ।                          

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.