Fast Nepal News

जनगणनाको तथ्यांकमा ठूलो अन्तर

banner single news

बझाङ — १८ माघ २०७८

बझाङ , २०६८ को जनगणनामा बझाङको जयपृथ्वी नगरपालिकामा ४ हजार १५ घरधुरी र २२ हजार १ सय ९१ जनसंख्या थियो । लामो समयसम्म जनसंख्याको अवस्था अद्यावधिक नभएकाले योजना तर्जुमा वास्तविक नहुने भन्दै नगरपालिकाले पुनः तथ्यांक संकलन गर्‍यो । २०७८ जेठमा ११ वडामा १४ गणक परिचालन गर्दा ४ हजार ४ सय २४ घरधुरी र २८ हजार ८ सय ६५ जनसंख्या पाइयो । २०७८ जेठमा सम्पन्न राष्ट्रिय जनगणनामा भने पछिल्लो १० वर्षमा ७ सय १८ घरधुरी र ६ हजार ६ सय ७४ जनसंख्या बढेको पाइएको छ । नगरपालिकाले संकलन गरेको तथ्यांकभन्दा राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजामा निकै फरक परेपछि जनगणनामै गम्भीर लापरबाही भएको नगरपालिकाका कर्मचारीहरूले बताएका छन् । जयपृथ्वी नगरपालिकामा ४ हजार ८८ घरधुरी र २१ हजार ९ सय ७३ जनसंख्या पुगेको छ । तथ्यांकले यहाँ भएको घरधुरी संख्या र जनसंख्या दुवै घटाइदिएपछि नगरपालिकाको तथ्यांक शाखाका कर्मचारी चकित छन् । तथ्यांक अवास्तविक लागेपछि जनगणना अधिकृतसँग बुझ्दा चित्तबुझ्दो जवाफ नपाएको सूचना अधिकारी सुमन बोगटीले बताए । ‘जनगणना अधिकृतले जहाँ बसेको छ, त्यतै गणना भएको हुनाले जनसंख्या घटेको होला भन्नुभयो । व्यक्तिको हकमा त त्यो ठीक पनि हुन सक्छ । ६ सय ४५ घर त त्यहीं छन् । त्यत्रो घरधुरी कसरी फरक पर्‍यो भन्दा उहाँले जवाफ दिन सक्नुभएन,’ बोगटीले भने, ‘जनगणनामा गम्भीर लापरबाही भएको देखियो । यो कसरी हुन्छ, सच्याउन लाउनुपर्‍यो ।’

बझाङका १२ वटै स्थानीय तहको तथ्यांकमा पालिकाहरूले विश्वास गर्न सकेका छैनन् । २०७४ को स्थानीय तहको निर्वाचनपछि प्रत्येक घरमा तथ्यांक संकलन गरी पालिकाको पार्श्वचित्र बनाएका पालिकाहरूले केही वर्षको अन्तरालमै जनसंख्या र घरधुरी संख्या धेरै घटेकाले जनगणना विश्वास योग्य नभएको बताएका छन् । ‘२ वर्षको अवधिमै चार सयभन्दा बढी घरधुरी र ६ हजार बढी जनसंख्या घटेको रिपोर्ट देख्दा हामी छक्क परेका छौं,’ बुंगल नगरपालिकाका सूचना अधिकारी रमेशकुमार कार्कीले भने, ‘न त्यत्रो संख्यामा मृत्यु भएको छ । न त बसाइँ नै सरेका छन् । यो त हचुवाको काम भयो ।’ बुंगल नगरपालिकामा २०६८ को राष्ट्रिय जनगणनाअनुसार ५ हजार ४ सय ८० घरधुरी र जनसंख्या ३३ हजार २ सय २४ थियो । नगरपालिकाले २०७६ सालमा संकलन गरेको तथ्यांकमा ५ हजार ७ सय ३५ घरधुरी र जनसंख्या ३९ हजार ५ सय ५० छ । तर, जनगणनाको प्रारम्भिक प्रतिवेदनमा यहाँ ५ हजार ३ सय ५७ घरधुरी र ३३ हजार ४८७ जनसंख्या छ । जनगणनाको प्रारम्भिक तथ्यांकमा २०६८ सालको जनगणनापछि साइपाल गाउँपालिकाबाहेक सबै पालिकाको घरधुरी संख्या र जनसंख्या घटेको देखाइएको छ ।               
Inside Article Ads

२०६८ को जनगणनाताका बझाङमा ३३ हजार ७७३ घरधुरी र १ लाख ९५ हजार १५९ जनसंख्या रहेकामा अहिले घटेर ३२ हजार ९१६ घरधुरी र १ लाख ८९ हजार ९७ जनसंख्या रहेको तथ्यांक सार्वजनिक गरेको छ । कतिपय तालिम प्राप्त गणकहरू तथ्यांक संकलनमा नगएर खेताला पठाएर गणना गरेका कारण पनि तथ्यांकमा त्रुटि देखिएको स्थानीयले बताए । ‘गाउँमा गयो भने कतिपय घरका मानिसहरू सदरमुकाम वा बजार क्षेत्रमा बसेका छन् भने । जहाँ बसेको छ, त्यही गणना गर्ने भनेर सिकाएको हुनाले हामीले त्यसै गर्न खोज्यौं तर बजारमा उनीहरू कहाँ बसेका छन् भनेर कोठा पत्ता लगाउन सकेनौं र त्यसै छोडिदियौं,’ जयपृथ्वी नगरपालिकाकी एक गणकले भनिन्, ‘टाढा–टाढाका गणक साथीहरूले त अन्दाजको भरमा फोनबाट पनि गणना गरेर फाराम भरेका छन् । त्यसो गर्दा त्रुटि त देखिने नै भयो ।’ जयपृथ्वी बहुमुखी क्याम्पसका जनसंख्या विषयका उपप्राध्यापक दीर्घराज पण्डित सुपरिवेक्षक नै खटाएर सुरुमै संकलन गरिएको घरधुरीको डाटामै त्रुटि देखिएको बताउँछन् । ‘यही तथ्यांकलाई आधिकारिक मान्ने हो भने भविष्यमा हुने योजना उनले भने, तर्जुमा तथा नीति निर्माणका काम प्रभावित हुन्छ, यसलाई सच्याउन जरुरी छ,’ उनले भने । जिल्ला जनगणना कार्यालयका जनगणना अधिकृत दीपेन्द्र बोहराले हाल सार्वजनिक प्रतिवेदन प्रारम्भिक भएकाले केही त्रुटि हुन सक्ने स्विकारे । पूर्ण प्रतिवेदन आउँदा त्यो सच्चिएर आउने उनको भनाइ छ ।

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.