
म्याग्दी — १७ माघ २०७८
म्याग्दी , सदरमुकाम जोड्ने बेनी नगरपालिका–८ कालीपुलस्थित मोटरपुल कालीगण्डकी नदीको निरन्तर कटानले जोखिमपूर्ण बनेको छ । पुलको पिलर नै नदी कटानले जीर्ण भए पनि सरोकारवाला निकायले संरक्षणमा चासो देखाएका छैनन् । सडक विभागले २०६२ मा पर्वतको मल्लाज र म्याग्दी सदरमुकाम बेनी जोड्न कालीगण्डकी नदीमाथि ७२ मिटर लामो मोटरपुल निर्माण गरेको थियो । बर्खायाममा कालीगण्डकीले ल्याउने ठूला ढुंगाको चापले पुलको पिलर फुटेर जीर्ण भएको हो । उक्त पुल म्याग्दी र मुस्ताङलाई प्रदेश राजधानी पोखरासमेत देशका अन्य भूगोलसँग सडकले जोड्ने मुख्य पुल हो ।
कालीगण्डकी करिडोर मालढुंगा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाले सडक विस्तारको काम गरिरहेको भए पनि उक्त पुल आफूहरूलाई हस्तान्तरण नभएको बताउने गरेको छ ।
सडक विभागले भने सडक स्तरोन्नति गर्ने, मर्मत गर्ने सबै काम पुरै आयोजनाको जिम्मामा गइसकेको बताउँछ । आयोजना प्रमुख जगत प्रजापतिका अनुसार उक्त पुल आयोजनाअन्तर्गत नै पर्ने भए पनि विभिन्न पुल भिन्दाभिन्दै कार्यालयले निर्माण गरिरहेका छन् । उनले भने, ‘बनिसकेका पुलको मर्मतसम्बन्धी कुनै जिम्मेवारी हामीलाई तोकिएको छैन ।’ कालीगण्डकीले भत्काएपछि ५ वर्षअघि पुलको पिलर सुरक्षा गर्न फलामका पाताले बेरेर राखिएको थियो । उक्त फलामे पाता पनि गएको बर्खामा नदीको वेगले उप्काएर पिलर नै भत्काउन थालेको हो ।
( कान्तिपुर दैनिक )
