Fast Nepal News

तीन पटक सर्वेक्षण गरिएको विमानस्थल निर्माण अझै अलपत्र

banner single news

सल्यान — १६ माघ २०७८    

सल्यान ,तीन पटक नापजाँच गरी छनोटमा परेको कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर कोटको विमानस्थल निर्माण अझै सुरु भएको छैन । कोटमा विमानस्थल बनाउन २०१८, २०३५ र २०४८ सालमा सर्भे गरिएको थियो । २०१८ सालमा वन सहायकमन्त्री बनेका सल्यानका नेबबहादुर मल्लले विमानस्थल निर्माणका लागि पहल थालेका थिए । उनको पहलपछि विमानस्थल निर्माणका लागि तीन पटक सर्भे गरिएको हो । सबै ठाउँमा मोटरबाटो पुगेर गाडी गुड्न थालेपछि विमानस्थल निर्माणको काम ओझेलमा परेको लक्ष्मीपुरका खुमबहादुर रावतले जानकारी दिए । ‘यहाँ विमानस्थल बन्छ भन्दा हाम्रो खुसीको सीमा थिएन,’ उनले भने, ‘अब त त्यो कुरा सपनामै सीमित भयो जस्तो लाग्छ ।’ पञ्चायतकालसम्म निर्वाचनमा भोट माग्न आउने नेताहरूले विमानस्थल निर्माणको कामलाई चुनावी एजेन्डा बनाउने गरेका थिए । अहिलेका नेताले भने विमानस्थल निर्माणको कुरा बिर्सिएको उनको आरोप छ ।

पहिले मोटर बाटो नहुँदा सबैले विमानस्थल निर्माणमा चासो देखाए पनि अहिले बिर्सिएको ६५ वर्षीय कुलमान नेपालीको गुनासो छ । ‘एयरपोर्ट भए कम्तीमा दुःखबिमार परेको बेला सहज उपचार पाइन्थ्यो,’ उनले भने, ‘वर्षायामको समयमा बाहिर जान सजिलो हुन्थ्यो ।’ स्थानीय सरकारले सडक निर्माणलाई प्राथमिकता दिए पनि भरपर्दो र बाह्रै महिना गाडी चल्ने सडक बनाउन नसकिएको उनको भनाइ छ । कसैले ध्यान नदिँदा स्थानीयले विमानस्थल बनाउन छनोटमा परेको जग्गाको आधाभन्दा बढी भाग अतिक्रमण गरेको स्थानीय हीरालाल रावतले बताए । विमानस्थल बनाउने जग्गाको केही भाग स्थानीय आधारभूत विद्यालय र एक निजी कम्पनीले ओगटेको छ ।

Inside Article Ads

‘विमानस्थल बनेको भए प्लेनबाट छिटो यात्रा गर्न सकिन्थ्यो । कोही बिरामी भए सहरका अस्पतालमा लैजान सकिन्थ्यो,’ उनले भने, ‘घण्टौंसम्म एम्बुलेन्स तथा अन्य गाडीको भर पर्नुपर्दा बाटोमै बिरामीको ज्यान जाने जोखिम अहिले पनि उस्तै छ ।’ विमानस्थलका लागि जग्गा छनोटमा परेपछि केही समय श्रमदान गरेर त्यहाँ रहेका साना थुम्कालाई सम्याएको ७० वर्षीय नीमलाल भण्डारी सम्झन्छन् । ‘एयरपोर्ट बनाउने जग्गा अपायक होला भनेर गोरेटो बाटो पनि बनाएका थियौं,’ उनले भने, ‘अहिले त सबैले एयरपोर्ट बनाउने कुरा बिर्सिए ।’ विमानस्थल निर्माणका आफूहरूसँग बजेट नभएको र माथिल्ला सरकारले बेवास्ता गरेको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए ।

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.