Fast Nepal News

विदेशबाट फर्किएर गाउँमै बोयर पालन

banner single news

बागलुङ — १६ माघ २०७८

बागलुङ , गाउँमा खेतीपाती गर्दा खानै धौ–धौ पर्न थालेपछि उनको परिवार १२ वर्षअघि काठमाडौं विस्थापित भयो । काठमाडौंमा ९ वर्ष बस्दा पनि आर्थिक प्रगति सन्तोषजनक भएन । त्यसपछि उनी वैदेशिक रोजगारीका लागि कतार गए । त्यहाँ ३ वर्षसम्म काम गर्दा पनि जाँदा लागेको ऋण तिर्ने गरी कमाउन सकेनन् । त्यसपछि जैमिनी नगरपालिका–७ बोरगाउँका २९ वर्षीय कुशल राना घर फर्किए । बाख्रा पाल्न थाले । बाख्राबाट भएको आम्दानीले अहिले ऋण तिरेर बचतसमेत गर्न थालेका छन् । दुई वर्षअघिदेखि उनले गाउँमै बोयर बाख्रा फर्म सञ्चालनमा ल्याएका छन् । ‘विदेशमा कमाइ भएन, बरु गाउँमै केही गर्छु भन्ने हिम्मत आयो,’ उनले भने, ‘बाख्राबाटै वार्षिक लाखौं कमाउन सक्ने सम्भावना देखेको छु ।’ उनले सहकारीबाट ऋण लिएर ८ लाख लगानी गरेर बाख्रा फर्म खोलेका हुन् । बाँझो बारी खनी–खोस्री गरी उन्नत जातको घाँस रोपेका छन् । डालेघाँसका रुख बारीमा प्रशस्त छन् ।

फर्मका २० बाख्रालाई त्यही घाँसले पुगिरहेको छ । ‘अब केही कमाइ हुन थालिसकेको छ, ५० वटासम्म बाख्रा पाल्छु,’ उनले भने, ‘त्यति भयो भने वार्षिक ८/१० लाख कमाइ हुन्छ ।’ गत महिना मात्रै उनले ३ लाख रुपैयाँमा ८० केजीको बोयर जातकै बोका थपेका छन् । बोयरको मासु अन्य खसीबोकाको तुलनामा महँगो छ । उन्नत जातको घाँस खुवाउँदा एकै वर्षमा बोयरको बोका ७० किलोसम्मको हुने जैमिनी नगरपालिका पशु विकास शाखाका प्राविधिक नेत्र आचार्यले बताए ।

Inside Article Ads

‘रानाले वैदेशिक रोजगारीबाट फर्केर राम्रो व्यवसाय गरेका छन्, उनको मिहिनेत देखेर नगरपालिकाको अनुदानका लागि सिफारिस पनि गरेको छु,’ आचार्यले भने, ‘गाउँ छाडेको दशकपछि घर फर्केर काम गर्ने युवाको जोसलाई सम्मान गर्नुपर्छ ।’ अहिले रानाको फर्ममा १२ वटा माउ बाख्रा छन् । उनको मिहिनेत र सफलता देखेर छिमेकका युवा पनि विभिन्न व्यवसायमा जोडिन थालेका छन । ‘केही युवाले कुखुरा पालेका छन् भने केहीले मौरीपालन थालेका छन्,’ स्थानीय डम्बरकुमारी रानाले भनिन्, ‘युवा गाउँमै बसेर काम गरिदिए राम्रो हुने रहेछ ।’ यो गाउँ नजिकैको बेलबगरमा मात्रै अहिले आधा दर्जन मासु पसल खुलेका छन् । फर्मबाट खसीबोका सजिलै बिक्री हुने गरेको रानाले बताए । ग्रामीण सडक गाउँगाउँमा पुगेकाले तरकारी, फलफूल, कुखुरा, मह र दूधसमेत किन्नेहरू घरघरमा आउने गरेकाले युवा गाउँ फर्केका हुन् ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.