Fast Nepal News

१६ परिवारलाई घर

banner single news

नेपालगन्ज — १६ माघ २०७८

नेपालगन्ज , चरम गरिबीको चपेटामा पर्दै आएका ढावा लामाको ओत लाग्ने ठाउँसमेत कतै थिएन । ‘घाम–पानी छेक्ने सानो घर होस्’ भन्ने उनको ठूलो सपना थियो । ‘अर्काको काम गर्दा र दुई छाक जुटाउन भौतारिँदै भौतारिँदै ६२ वर्ष बित्यो । घरबास कस्तो हुन्छ थाहै भएन,’ लामाले भने, ‘चिटिक्क परेको सानो घर आफ्नो नाममा परेको थाहा पाएपछि सपना हो कि विपना, छुट्याउनै गाह्रो भयो ।’ रुक्सार हलवाई पनि अहिले प्रफुल्लित छिन् । उनले पनि एउटा तीनकोठे घर पाएकी छन् । जसमा पानी, बिजुली र शौचालयको सुविधा छ । यस्तो घरमा बस्न पाउने कल्पनासमेत नगरेको रुक्सारले बताइन् । ‘गरिबका दिन पनि फर्किने रहेछन्,’ उनले भनिन्, ‘सोच्दै नसोचेको कुरा पाएका छौं । त्यसैले खुसीको सीमा नै छैन ।’ तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत बाँकेको खजुरा गाउँपालिकाले गाँसबासविहीनका लागि निर्माण गरेको सुविधायुक्त सामूहिक आवास क्षेत्रमा अति विपन्नलाई खोजेर राख्न थालेपछि साइवा अन्सारीका आँखामा एकाएक खुसीका आँसु छचल्किए । ‘सधैं गरिबीले थिच्यो ।

पढ्न पाइएन । मिठो खान र राम्रो लगाउन पाइनँ,’ १२ नम्बरको घरमा बस्न थालेकी साइवाले भनिन्, ‘ढुक्कसाथ राम्रो घरमा बस्न पाउँदा सबै पीडा बिर्सिंदो रै’छ ।’ गाउँपालिकाले निर्माण गरेका १६ वटा घर शुक्रबार हस्तान्तरण गरेको छ । वितरण गरिएका सबै आवास गृहमा घर नम्बर राखिएको छ । गाउँपालिकाले गरिबलाई वितरण गरेका सबै घरमा पानी, बिजुली, शौचालयको व्यवस्था गरिएको छ । उक्त सामूहिक आवास क्षेत्रसम्म पुग्ने फराकिलो सडक निर्माण गरिएको छ । गरिबको आवास क्षेत्रका हरेक घरमा करेसाबारीका लागि जग्गा छुट्याइएको छ । विपन्न परिवारबाट आवेदन आह्वान गरी छनोट भएका परिवारलाई मात्र आवास क्षेत्रका घर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले बताए । अरू पाँचवटा घर पनि निर्माण गर्दै गरेको उनले जानकारी दिए । झन्डै पुरै जिन्दगी खुला आकाशमुनिको कष्टकर बसाइमा बिताएका विपन्न वर्गलाई क्रमिक रूपमा बस्नयोग्य घरबास निर्माण गरिदिने योजना स्थानीय सरकारको छ ।  

Inside Article Ads
‘नागरिकको नजिककै स्थानीय सरकार छ भन्ने अनुभूति दिलाउने प्रयासमा छौं,’ अध्यक्ष कक्षपतिले भने, ‘कतै पनि जग्गा–जमिन नभएका परिवारको खोजी गरी घर वितरण गर्दा जनताले परिवर्तनको महसुस पनि गर्न पाउँछन् ।’ यसअघि बाँकेको गोहदहनामा ८८ लाख रुपैयाँभन्दा बढी खर्च गरेर २५ वटा आवास गृह निर्माण गरी गरिबलाई हस्तान्तरण गरिसकेको गाउँपालिकाले थप पाँचवटा घर निर्माण गर्दै छ । गाउँपालिकाले घरबासको व्यवस्था गरी गाउँपालिकाभित्रका गरिब परिवारलाई निवेदन आह्वान गर्न भनेको हो । गरिबीको आधार प्रमाणसहित सामूहिक आवास क्षेत्रमा बस्न आउन सार्वजनिक सूचना गर्दा पनि निवेदन नपरेपछि आवास क्षेत्रका घर वितरणमा ढिलाइ भएको थियो । जबकि सबै घर ८ महिनाअघि नै निर्माण सम्पन्न भईसकेका थिए । ‘गरिबका नाममा हुनेखानेले घर नपाऊन् भन्नेतिर पनि सचेत हुँदै गरिब पहिचान गर्न एक वर्ष नै लाग्यो,’ कक्षपतिले भने ।    

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.