
दार्चुला — १४ माघ २०७८
दार्चुला , दार्चुलाका ६१ वडामै आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको छ । साविकका स्वास्थ्य चौकीबाट टाढा रहेका बस्तीमा गाउँघर क्लिनिकलगायतबाट स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन सबै वडाहरूमा आधारभुत तहको स्वास्थ्य संस्था स्थापना भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा दुई अस्पतालसहित गाउँघर क्लिनिकबाट स्थानीयलाई स्वास्थ्य सेवा उपलब्धता भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । उनका अनुसार सरदमुकाम खलंगा र गोकुलेश्वरमा अस्पताल छन् । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकसहित जनशक्तिले स्वास्थ्य सेवा प्रदान भईरहेको छ । मुलुक संघीय संरचनामा गएपछि आधारभूत स्वास्थ्य उपचारका लागि गाउघरमै स्वास्थ्य संस्थाहरू स्थापनाक्रम बढेको छ । जिल्लाका दुर्गम बस्तीमा समान्य किसिमको उपचारको व्यवस्था हुने गरी स्थानीय तहहरूले सेवा दिइरहेको उनको भनाइ छ ।
ग्रामीण बस्तीसम्म सहज स्वास्थ्य सेवा विस्तार कार्यक्रमअन्तर्गत सोमबार मालिकार्जुन गाउँपालिका–३ बसेडीमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याइएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए । वडाको मालिकार्जुन स्वास्थ्य चौकीबाट टाढाको बस्ती बसेडीमा स्थानीयलाई स्वास्थ्यको पहुँचमा ल्याउन क्लिनिक सञ्चालनमा आएको मालिकार्जुन गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामदत्त भट्टले बताए । स्थानीयलाई समान्य स्वास्थ्य समस्या आउँदा मड पुग्न अप्ठ्यारो हुने हुँदा जटिलबाहेकको बिरामीलाई गाउँघर क्लिनीकमा उपचारको व्यवस्था छ ।
त्यस्तै जिल्लाको दुर्गम एवं सबैभन्दा उचाइमा रहेको ब्यास गाउँपालिका–१ स्थित टिंकर गाउँमा ब्यास गाउपालिकाले सामुदायिक आधारभुत स्वास्थ्य इकाईबाट स्वास्थ्य सेवा स्थानीयलाई उपलब्धता गराइरहेको ब्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताए । ६ महिना मात्र उक्त ठाउमा स्थानीयको बसाइ हुने समयमा इकाईबाट आधारभूत स्वास्थ्य सेवा उपभोग स्थानीयसँगै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले लिइरहेका छन् । अहिले भाडाको घरमा एक जना स्वास्थ्यकर्मीले सेवा दिइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा स्वास्थ्य इकाई केन्द्रको भवन निर्माणाधीन छ । निर्माणपछि व्यवस्थित रूपमा सञ्चालन गर्ने गाउँपालिकाले योजना बनाइरहेको अध्यक्ष बुढाथोकीको भनाइ छ । ‘जनताको माग र आवश्यकताको आधारमा विभिन्न किसिमका स्वास्थ्य संस्थाहरू स्थापना भइरहेका छन्,’ अध्यक्ष बुढाथोकीले भने, ‘नागरिकको मुख्य आवश्यकता जस्तो स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिरहेका छौं ।’
( कान्तिपुर दैनिक )
